यौनजन्य अपराध पुष्टि नभएसम्म आरोपितको परिचय गोप्य राख्न सर्वोच्चमा रिट


काठमाडौं, असोज ४ । बलात्कार तथा यौनजन्य कसुरको आरोप वा अभियोग लागेका व्यक्तिको गोपनीयताको हक सुनिश्चित गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराई र ईश्वर देवकोटासहित कानुनका विद्यार्थी रेजिना पौड्यालले सो मुद्दामा आरोप पुष्टि नभएसम्म अभियुक्तको परिचय खुलाउन नहुने भन्दै मंगलबार रिट दर्ता गरेका हुन् ।
यौनजन्य कसुरको जाहेरी पर्नासाथ समाजिक सञ्जाल, सञ्चारमाध्यममा आरोपितको पहिचान र तस्बिर सार्वजनिक गरिदिदाँ त्यस्ता जाहेरी परेका व्यक्तिको गोपनीयता भंग हुने र अनुसन्धान भइरहेको व्यक्ति उपर अस्वस्थ टीकाटीप्पणी र निजको चरित्र हत्या हुने खालका गतिविधि हुने ठहर गर्दैै रिट दायर गरिएको हो ।
यस्तै गोपनीयता बाहिर ल्याउँदा अदालतबाट सफाइ पाए पनि समाजमा पूनर्स्थापित हुन गाह्रो हुने र सामाजिक जीवनमासमेत क्षति पुग्ने भएकाले आरोपितको नाम गोप्य राख्नुपर्ने माग रिटमा उल्लेख छ ।
नेपालको संविधानको धारा २८ ले कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ती, लिखित, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानुन बमोजिम बाहेक अनतिक्रम्य हुनेछ’ भन्ने व्यवस्था गरेअनुसार नै गोपनीयतालाई व्यवहारिक रुपमा अनुसरण गर्न आवश्यक रहेको रिटमा उल्लेख छ ।
रिटमा भनिएको छ,’नेपालको संविधानको धारा १ को उपधारा १ ले सबै नागरिक कानुनको दृष्टमा समान हुनेछन् भन्ने व्यवस्था गरेको छ । जसअनुसार पीडित र अभियुक्तलाई राज्य निकायले अनुसन्धान गर्ने क्रममा निजलाई भोलिको दिनमा समाजमा आत्मसम्मानका साथ जीविकोपार्जन गर्न सक्ने अवस्थाको सृजना गर्न तम तयार हुनुपर्छ ।’
फौजदारी न्यायको सर्वमान्य सिद्धान्तका आधारमा कुनै अभियोग लागेका व्यक्तिलाई सो अभियोग पुष्टि नभएसम्म निर्दोष मानिन्छ ।























