भोकै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यलय पुगे राउटे अगुवा


सुर्खेत । फागुन १९ बुधबार, राउटे अगुवा दिलबहादुर शाहीसहितको टोलीले आफूहरुलाई खाना र पालको व्यवस्थाप गर्न माग गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट गर्दै दिलबहादुले चार महिनासम्म भत्ता नपाउँदा आफ्ना जनतालाई छाक टार्न समस्या परेको भन्दै खानाको व्यवस्था गर्न माग गरे ।
कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय सुर्खेत नै पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिँदा चामल किन्न समस्या भएको उनले बताए । उनले मुख्यमन्त्रीलाई भेट्न भोकै आएको पनि बताए । संघीय सरकारले राउटेलाई प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । ‘मेरा जनता भोकले मर्न आँटे । म पनि भोकै यहाँ आएको छु’, मुख्यमन्त्रीसँग गुनासो गर्दै दिलबहादुरले भने, पेटभन्दा ठूलो केही छैन, त्ससैले भत्ता र रासनपानी दिएर पठाउनु पर्यो, सरकार ।’
खानका लागि चामल नहुँदा राउटे परिवारलाई भोकले ठूलो समस्या बनाएको बताउँदै दिलबहादुरले जतिसक्दो चाँडो खानाको व्यवस्था मिलाउन आग्रह गरे । कर्णालीमा ४६ घर परिवार राउटे छन् । मुख्यमन्त्री शाहीले राउटे अगुवा दिलबहादुरलाई प्रदेश सरकारले खानासहित ओतका लागि व्यवस्थित पाल उपलब्ध गराउने वचन दिए ।























