Opens in a new tab

मिटरब्याजपीडितको टाउकामा सरकारको लाठी

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौ । टाउकाबाट रगत बगिरहेको थियो तर नारा लगाउन छाडेका थिएनन् । ‘न्यायका लागि मर्न तयार छौं, न्याय नपाउन्जेल लडिरहन्छौं,’ मिटरब्याजी सुदखोरविरुद्ध किसान–मजदुर संघर्ष समितिका उपाध्यक्ष कुलप्रसाद थापामगर घाइते अवस्थामा पनि प्रहरीसँग झोक्किँदै नारा लगाउँदै थिए । अरू पीडितहरू पनि ‘शान्तिपूर्ण विरोधमा अवरोध गरेको’ भन्दै आक्रोशित भइरहेका थिए ।

तराईका विभिन्न जिल्लाबाट काठमाडौं आएर पीडितले साउन दोस्रो सातादेखि नै मिटरब्याजी सुदखोरविरुद्ध शान्तिपूर्ण रूपमा धर्ना दिइरहेका छन् । उनीहरू दिनभर माइतीघरमा धर्ना दिन्छन् र साँझ परेपछि कीर्तिपुरको सल्यानथानमा बनाइएका अस्थायी टहरामा पुगेर रात कटाउँछन् । महिनौंदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका पीडितको मागलाई सम्बोधन गर्नुको सट्टा सरकारले सोमबार कीर्तिपुरै पुगेर दमन गर्‍यो ।

कीर्तिपुरबाट हरेक दिन प्लेकार्डसहित प्रदर्शन गर्दै माइतीघर आउने गरेका उनीहरूलाई प्रहरीले कीर्तिपुरमै रोक्ने प्रयास गरेको थियो । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीलाई कारण देखाउँदै धर्नाका लागि माइतीघर आउन लागेका किसानलाई निषेध गरिएको थियो ।

प्रहरीले सबेरैदेखि पीडितहरूको टहरामा घेरा हालेको थियो । ‘हामी उठ्न नपाउँदै प्रहरी आइसकेका थिए, पछि हामी दिनहुँजस्तै माइतीघर जाने तयारीमा लाग्यौं तर प्रहरीले अत्याचार गर्‍यो, निर्मम रूपमा लाठीचार्ज गर्‍यो,’ पीडित टीकाप्रसाद दमाईंले भने । लाठीचार्जबाट समितिका उपाध्यक्ष कुलप्रसाद थापामगर, सदस्यहरू कौशिलादेवी केवट र दिवस गौतमलगायत घाइते भएका छन् ।

प्रहरी अवरोधकै बीच पीडितहरू विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । समिति अध्यक्ष रामसुरत गुप्तासहित १२ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुर राखेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । पीडितले भने ४६ जना पक्राउ परेको बताएका छन् ।

गाउँबाट खाली हात काठमाडौं आएका ७० जना किसान ४३ दिनदेखि कीर्तिपुरको सल्यानथानमा बसिरहेका छन् । त्यसअघि उनीहरू गौशालामा अस्थायी टहरा बनाएर बसेका थिए । अहिले सल्यानथानमा उनीहरूका लागि बाँस र प्लास्टिकको टहरा बनाइएको छ । सहयोगी दाताहरूले दिएको दुई पैसा र अन्नले उनीहरूको छाक टरेको छ । त्यसैको आडमा उनीहरू निरन्तर संघर्ष गरिरहेका छन् । ‘मागेरै भए पनि खाना र पानीको जोहो गरेका छौं, न्याय नपाउन्जेल काठमाडौं छोड्दैनौं,’ पीडित संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ताले भने, ‘उताबाट साहुले पेलेका छन्, यताबाट सरकारले ठेल्दै छ तर हामी शान्तिपूर्ण आन्दोलन छोड्दैनौं । हाम्रो समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्छौं ।’ उनले सीमित मिटरब्याज पीडितबाट सुरु भएको आन्दोलनमा हजारौं पीडित किसान जोडिएको बताए ।

न्याय माग्न उनीहरू एकैपटक माइतीघर आइपुगेका होइनन् । सुरुवातमा उनीहरूले स्थानीय सरकार र जिल्ला प्रशासनसम्म धर्ना कसे । तर सरकार र प्रशासन नै मिटरब्याजी सुदखोरका पक्षमा उभिएपछि उनीहरूको संघर्ष थप पेचिलो बन्यो । उनीहरूले ०७८ माघमा संघर्ष समिति बनाएर आन्दोलन थाले । समितिले स्थानीय तहमा आन्दोलन गर्दा समाधानका लागि स्थानीय जनप्रतिनिधिले चासो देखाएनन्, प्रशासनले समेत सहयोग गरेन । त्यसपछि उनीहरू काठमाडौंको माइतीघरसम्मै आउन बाध्य भएका हुन् ।

गत असारमा नवलपरासीका केही परिवार किसान मिटरब्याजीबाट मुक्ति पाउन आग्रह गर्दै काठमाडौं आएका थिए । त्यो बेला सानो संख्यामा आएका किसानलाई सरकारले आश्वासन दिएर फर्कायो । मिटरब्याजीविरुद्ध अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने आश्वासन पाएर गाउँ फर्किएका किसानले एक महिना पर्खिए । तर, सरकारले कुनै कदम नचालेपछि साउन दोस्रो सातादेखि पुनः काठमाडौं आएर धर्ना कसेका हुन् ।

त्यसयता उनीहरूको संघर्ष निरन्तर छ । नवलपरासी रामग्रामकी पुष्पा उपाध्याय अब सुदखोर साहुबाट मुक्ति नपाएसम्म गाउँ नफर्किने बताउँछिन् । ‘हामीले चार वर्षअघि भरोसा सैयवारसँग ३ लाख ५० हजार रुपैयाँ ऋण लियौं तर त्यही बेला ७ लाख रुपैयाँको कागज गरिदिएछन्, १८ महिनासम्म सयकडा १० को दरले ब्याज तिरें,’ उनले भनिन्, ‘मैले ऋण लिएको सबै पैसा तिरिसकेकी छु तर तीन वर्षमा ऋण फुकुवा गर्दिन्छु भन्यो तर अहिले ९ लाख ८० हजार रुपैयाँ तिर्नुपर्ने भन्दै अदालतमा मुद्दा हालेको छ । हामीलाई यस्तो ज्यादती हुँदा पनि सरकारले सुनेन, हामी न्याय नपाएसम्म गाउँ फर्किंदैनौं ।’

नवलपरासीकै प्रतापपुरकी आस्मा खातुन पनि साहुजनको ठगीबाट छुटकारा नपाएसम्म गाउँ नफर्किने बताउँछिन् । साहु सुरेश बानियाँले आफूलाई पाँच लाख ऋण दिएर दस लाखको कागज बनाई ठगी गरेको उनको आरोप छ । ‘घर बनाउँदाको ऋण तिर्न नसकेपछि सुरेश बानियाँसँग हामीले ५ लाख रुपैयाँ लियौं, त्यति ऋणको बदला आफ्नो ७ कट्ठा खेत बेचेर ३४ लाख ऋण तिरिसक्यौं तर अझै ऋण चुक्ता भएन भन्छ,’ उनी भन्छिन्, ‘अब त्यही दुई तलाको घरसहित १३ कट्ठा खेतसमेत दृष्टिबन्धकमा परेको छ । बैंकले ऋण दिएन, मिटरब्याजीको भर पर्दा घरबारविहीन भएका छौं ।’

उनीहरूमात्रै होइन, यहाँ आन्दोलनरत हरेकका यस्तै वेदना छन्, उस्तै घाउ छन् तर सरकारले उनीहरूको घाउमा मल्हमपट्टी गर्न सकेको छैन । त्यसका लागि सरकारी प्रयास सफल हुन सकेको छैन । त्यसो त मिटरब्याजीका समस्या सम्बोधन गर्न सरकारले कुनै प्रयास नगरेको पनि होइन । किसानले मिटरब्याजी सुदखोरविरुद्ध दोस्रो पटक आन्दोलन चर्काएपछि सरकारले साउन २७ मा समस्या समाधान गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाइसकेको छ । पीडित भने कार्यदलमा आफूहरूको प्रतिनिधित्व नभएको भन्दै कार्यदलको कामप्रति सशंकित छन् । अझै पनि आफूहरूलाई न्यायको नाममा सुदखोरहरूलाई मुक्ति दिने त होइन भन्ने उनीहरूमा आशंका छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछि गृह मन्त्रालयले सहसचिव भीष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक दिनेश आचार्य, कानुनका उपसचिव श्रीकृष्ण पौडेल, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशन मुकुन्द मरहट्ठा र नायब उपरीक्षक रोशन खड्का सदस्य थिए । त्यसबेला मन्त्रालयमा भएको छलफलमै पीडितले उनीहरूको संलग्नताबारे प्रश्न उठाएका थिए । तर, अपराध अनुसन्धानको विषय भन्दै गृहले उनीहरूलाई सहभागी गराउन अस्वीकार गरेको थियो । ‘कार्यदलले अपराधको अनुसन्धान त गर्‍यो तर हाम्रो प्रतिनिधित्व गराएको छैन,’ संघर्ष समितिका संयोजक गुप्ताले कान्तिपुरसँग भने, ‘हामी आशावादी छौं तर कार्यदलको काममा विश्वस्त हुने आधार छैन ।’ कान्तिपुरबाट साभार

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे