बुटवलमा विद्यालय जाँदा बेपत्ता भएका तीन बालक भारतको मुम्बइमा भेटिए

नवलपुर टुडे
२०७९ भदौ २६ | बिहान १०:०५ बजे

बुटवल, भदौ २६ । रुपन्देहीको बुटवलमा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बई पुगेको खुलेको छ ।
बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालयतर्फ गए पनि विद्यालय समेत नपुगी बेपत्ता भएका थिए । शुक्रबार साँझसम्म घरमा नपुगेपछि खोजीकार्यका लागि प्रहरीमा समेत निवेदन दिइएको सागरका मामा राजु पन्थीले बताएका थिए ।
प्रहरीको सहयोगमा खोजीकार्य हुदा बालकहरू भेटिएको मामा पन्थीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठग बहादुर केसीले बालकहरू अहिले आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको जानकारी दिए ।























