दाङमा दुई तलामाथिबाट हाम्फालेर भागे अदालत पुर्याइएका थुनवा

नवलपुर टुडे
२०७९ भदौ २४ | बिहान ०६:०५ बजे

दाङ । म्याद थप्नका लागि दाङ जिल्ला अदालत पुर्याइएका एक व्यक्ति भाग्न सफल भएका छन्। चोरी आरोपमा पक्राउ परेका उनलाई म्याद थप गर्नका लागि जिल्ला अदालत पुर्याएको बेलामा शौचालय जान्छु भनी शौचालयको झ्यालबाट हाम्फालेर भागेको दाङ प्रहरीले जानकारी दिएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा भागेका छन्। बिहीबार साँझ पाँच बजेतिर उनी जिल्ला अदालतको दुई तला माथिबाट भुइँमा हाम्फालेका थिए। सीसीटीभी फुटेजमा उनी भागेको देखिएको प्रहरीले जानकारी दिएको छ।
सुनका गहना चोरी गरेको आरोपमा बुधबार उनी पक्राउ परेका थिए। शौचालय जाने बेला विश्वकर्माको हतकडी खोलिएको थियो। फरार विश्वकर्माको खोजीका लागि नाका सिल गरिएको छ।























