बंगलादेशले नेपालको बिजुली लैजान भारतसँग माग्यो मार्ग

नवलपुर टुडे


अन्तरदेशीय विद्युत् व्यापारका लागि द्विपक्षीय र बहुपक्षीय सहमति गर्न सकिने भारतको जवाफ
काठमाडौँ । बंगलादेशले नेपालको बिजुली लैजान बाटो खोलिदिन भारतसँग आग्रह गरेको छ । सेप्टेम्बर ५ देखि ८ सम्म भारत भ्रमणमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटका क्रममा नेपाल र भुटानमा उत्पादित बिजुली भारतीय भूमिबाट लैजाने अनुमतिका लागि आग्रह गरेकी हुन् ।
‘बंगलादेशले नेपाल र भुटानबाट बिजुली लैजान भारतको अनुमति मागेको छ,’ भारतीय विदेश मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । भारतीय पक्षले भने यसअघि नै अन्तरदेशीय विद्युत् व्यापारका लागि गाइडलाइन तयार पारिसकेकाले सोहीअनुसार अघि बढ्न सकिने जवाफ दिएको छ । भारतको विद्युत् मन्त्रालयले सन् २०१८ मा ‘गाइडलाइन फर इम्पोर्ट/एक्सपोर्ट (क्रस बोर्डर) अफ इलेक्ट्रिसिटी’ जारी गरेको छ । उक्त गाइडलाइनअनुसार अन्तरदेशीय विद्युत् व्यापारका लागि द्विपक्षीय र बहुपक्षीय सहमति गर्न सकिने जवाफ भारतले बंगलादेशलाई दिएको हो ।
विज्ञप्तिअनुसार ऊर्जा क्षेत्रमा क्षेत्रीय सहकार्यका लागि अन्तरदेशीय विद्युत् कनेक्टिभिटी निर्माणमा दुवै देश सहमत भएका छन् । बिहारको कटिहारदेखि बंगलादेशको पार्वतीपुर हुँदै असमसम्म ७६५ केभी प्रसारण लाइन बनाउन प्रस्ताव गरिएको छ । प्रसारण लाइन बनाउन दुवै देशले संयुक्त कम्पनी स्थापना गर्नेछन् । बंगलादेशले नेपालबाट बिजुली किन्न चाहिरहेको छ भने नेपाल पनि वर्षायाममा बढी भएको बिजुली बंगलादेशलाई बेच्न तयार छ । तर नेपालको बिजुली भारतीय प्रसारण प्रणाली प्रयोग गरेर मात्रै बंगलादेश पुग्न सक्छ । यसकारण अन्तरदेशीय बिजुली व्यापारका लागि तीनवटै देशको सहमति आवश्यक छ ।
यही भदौ ८ र ९ मा काठमाडौंमा बसेको नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय जोइन्ट स्टेयरिङ कमिटी (जेएससी) र सहसचिवस्तरीय जोइन्ट वर्किङ ग्रुप (जेडब्लूजी) को चौथो बैठकले दुई देशबीच तत्काल ५० मेगावाट बिजुली किनबेच गर्न सकिने सहमति भएको थियो । नेपालको बिजुली बंगलादेश लैजान भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले त्यहाँका सरोकारवाला निकायसँग त्रिपक्षीय छलफल गर्ने विषयमा पनि दुवै देशका अधिकारी उक्त बैठकबाट सहमत भएका थिए । भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालको बिजुली सोझै बंगलादेश जाने भने होइन । बंगलादेशले अहिले भारतबाट बिजुली किनिरहेकामा त्यही प्रणालीबाट जाने गरी नेपालको बिजुली माग गरिरहेको छ ।
भारतले अन्तरदेशीय विद्युत् व्यापारका लागि एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई अधिकार दिएको छ । नेपाल र भारत तथा भारत र बंगलादेशबीच अहिले भइरहेको विद्युत् व्यापारमा भारतीय कम्पनी एनभीभीएनले मध्यस्थकर्ताका रूपमा काम गरिरहेको छ । यसकारण नेपाल–बंगलादेशबीचको विद्युत् व्यापारमा पनि एनभीभीएनको भूमिका खोजिँदै आएको छ । नेपाल–बंगलादेश जेएससी र जेडब्लूजीको चौथो बैठकका क्रममा नेपालले एनभीभीएनलाई बिजुली उपलब्ध गराउने र सोही परिमाण बराबर एनभीभीएनले बंगलादेशलाई दिने गरी त्रिपक्षीय सम्झौता आवश्यक पर्ने औंल्याइएको थियो । विगतदेखि नै यस्तो त्रिपक्षीय छलफलका लागि पहल हुँदै आएको छ तर हालसम्म पनि ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय बैठक बस्न सकेको छैन । कान्तिपुरबाट साभार

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















