मुख्य समाचार

प्रधानमन्त्री देउवा भोलि(शुक्रबार) चितवन आउँदै

नवलपुर टुडे
२०७९ भदौ २३ | मध्यान्ह ०५:०५ बजे

चितवन, भदौं २३ । प्रधानमन्त्री देउवा भोलि(शुक्रबार) चितवन आउने भएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनलाई दृष्टिगत गरी प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आउने भएको हो ।

निर्वाचन नजिकिएसँगै चितवनमा नेताहरुको दौडधुप बढ्दै गएको अवस्थामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापति रहेका देउवा चितवन आउन लागेका हुन् । केही दिन अघिमात्र माओवादी अध्यक्ष प्रचण्ड चितवन आएर फर्किएका थिए ।

देउवाको विश्वासपात्र मानिएका मन्त्री उमेश श्रेष्ठ पनि चितवनमा नै रहेका छन् । चितवनमा आउँदा उनले पार्टीको निर्वाचन लक्षित कार्यक्रमलाई समापन गर्नुको साथै असन्तुष्ट नेता तथा कार्यकर्तालाई पनि फकाउने प्रयास गर्ने जनाइएको छ । विशेष त उनको ध्यान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उठ्ने चितवन–३ मा केन्द्रित हुने कांग्रेसका एक जिल्ला नेताले बताएका छन् । उनले भने, ‘ देउवाको औपचारिक कार्यक्रम भनिए पनि अनौपचारिकरुपमा उनले गठबन्धन विरोधी कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई फकाउने प्रयास गर्नेछन् ।

प्रचण्डको क्षेत्रमा कांग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङ र केन्द्रीय सदस्य दिनेश कोइरालाले आकांक्षा देखाएका छन् । उनीहरुलाई फकाउने काममा पनि देउवा सक्रिय हुनेछन् भने अर्काेतिर आफ्नो पक्षमा नेताहरु मन्त्री उमेश श्रेष्ठको चितवन–२ मा चुनाव लड्ने वातावरण बनाउनेतर्फ पनि देउवाको ध्यान जानेछ । देउवाले सम्बोधनमा गठबन्धन भन्दा दायाँबायाँ नलाग्न कांग्रेस नेता तथा कार्यकर्तालाई निर्देशन दिने धेरैको अनुमान छ । यसअघि भरतपुरको स्थानीय निर्वाचनमा पनि माओवादीको चुनाव चिन्हमा भोट हाल्न देउवा र प्रचण्डले कडा निर्देशन दिएका थिए ।

स्थानीय तहमा असन्तुष्ट भुइँकटर समूहलाई पनि देउवाले भेट्ने स्रोतले जनाएको छ । नेपाली कांग्रेसले मंसिर ४ को चुनाव लक्षित सुरु गरेको ‘जनताको साथमा कांग्रेस अभियान’को पहिलो चरणको कार्यक्रम भोलि समापन हुँदै छ । कांग्रेस चितवनले गरेको पत्रकार सम्मेलनमा कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा दिउँसो करिब १२ बजे देउवा आउने कार्यक्रम रहेको जानकारी दिए ।

सभापति खनालका अनुसार मंसिर ४ गते हुने दुई तहको निर्वाचनमा जनतालाई कांग्रेस पार्टीको विषयमा बुझाउने उद्देश्यस्वरूप भदौ १० गतेदेखि अभियान थालिएको हो । २४ गते उक्त अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम सुरू गरिने पार्टी सभापति खनालले जानकारी दिए । पहिलो चरणको कार्यक्रममा पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा कार्यसमिति, पालिका कार्यसमिति र वडा सभापतिबीच वृहत् कार्यक्रम गरिएको उनले बताए ।

काठमाडौँमा गएर चितवनको प्रचण्डको क्षेत्रमा कांग्रेसले आफ्नो दाबी नछाड्ने बताउँदै आएका कांग्रेस चितवनका अध्यक्ष खनाल अहिले गठबन्धनप्रति नरम बन्दै गएका छन् । यस्तै जिल्लाका सबै वडाका पार्टी सभापति निर्वाचित, वडा अध्यक्ष, पालिका प्रमुख तथा उप–प्रमुखहरूबीच अन्तरक्रिया, जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिको संयोजनमा जिल्लाका ९८ वटै वडामा प्रतिनिधि खटाई वडाको वस्तुस्थितिबारे जानकारी अध्यावधिक गर्ने कार्यको समेत सुरूवात गरिएको अध्यक्ष खनालले पत्रकार सम्मेलनमा बताए ।

उक्त कार्यक्रमको लागि कांग्रेस केन्द्रीय समितिले चितवनमा केन्द्रीय सदस्य श्यामकुमार घिमिरेलाई प्रतिनिधिको रूपमा खटाएको थियो ।

कमेन्टहरु