काजिअद्वारा सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

नवलपुर टुडे
२०७९ भदौ २३ | मध्यान्ह ०५:०५ बजे

काठमाडौं, भदौ २३ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए। ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद(१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसूरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति दिएसँगै पक्राउ पुर्जी जारी भएको छ,’ उनले भने।
भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मंगलबार जाहेरी परेको थियो। जाहेरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको हो।























