इन्द्रजात्राका लागि महानगरको सबै तयारी पूरा, विभिन्न देशका १८ नगरप्रमुखलाई निम्तो


काठमाडौं, भदौ २२ । काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका लागि सबै तयारी पूरा गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै महानगरले इन्द्रजात्रा मनाउन सबै तयारी पूरा गरेको र महानगरका मेयर बालेन्द्र शाह (बालेन)को नेतृत्वमा हुने जानकारी दिएको छ ।
जात्रामा महानगरसँग भगिनी सम्बन्ध भएका विभिन्न देशका १८ नगर प्रमुखहरुलाई निमन्त्रणा गरिएको मेयर बालेनले बताए । उनका अनुसार जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, बेलारुसको मिन्स्क, म्यानमारको याङ्गुन, उत्तर कोरियाको प्योङ्याङ, भारतको वाराणसी र स्पेनको मड्रिड सहरका प्रमुखहरुलाई निमन्त्रणा गरिएको छ ।
कोरोना महामारीका कारण चीनमा संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्डलाई कडाइ गरिएकोले पाहुनाहरु आउन कठिन हुने प्रारम्भिक सूचना रहेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । इन्द्रजात्रा व्यवस्थापन समितिले ट्राफिक व्यवस्थापनका लागि उपत्यका ट्राफिक प्रहरी महाशाखासँग समन्वय गरेको छ ।
त्यस्तै, प्रहरी परिसर काठमाडौं, महानगर प्रहरी बल, सार्दुलजंग गुल्म, प्रहरी वृत्त जनसेवा, ट्राफिक प्रहरी वृत्त जनसेवा, नेपाल स्काउट, जनसेवा सामुदायिक केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय संघसस्था र हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमसँग समन्वय गरिएको छ ।
बुधबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ भएको जात्रा रथयात्रा र देवदेवताको पूजाआजा गरी विभिन्न नाचहरु प्रस्तुत गरेर मनाइन्छ । इन्द्रजात्रा भदौ २४ गते परेको छ ।























