मुख्य समाचार

क्रिकेटर सन्दीपलाई इन्टरपोलमार्फत झिकाउँछौं : प्रहरी प्रवक्ता राई

नवलपुर टुडे
२०७९ भदौ २२ | बिहान ०९:०५ बजे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको छ । सन्दीपमाथि भदौ ५ गते एक बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार राति गौशाला बृत्तमा उजुरी दर्ता गराएको छ ।

उजुरी दर्ताभएसँगै नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । सन्दीप अहिले वेस्टइन्डिजमा जारी क्यारेवियन प्रिमियर लिग खेल्नका लागि उतै रहेका छन् । उनलाई आरोप लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिने प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले जानकारी दिए ।

उनले भने ‘अहिले उजुरी दर्ता भएको सत्य हो, हाम्रो टिमले अनुसन्धान अघि बढाइसकेको छ ।’ अनुसन्धानका लागि पनि सन्दीपलाई नियन्त्रण लिने प्रवक्ता राईको भनाई छ ।

‘काठमाडौंमा भएको भए नेपाल प्रहरी आफैले यो प्रक्रिया अघि बढाउने थियो, तर अहिले उनी देशबाहिर रहेकाले इन्टरपोलको सहयोगमा सन्दीपलाई नियन्त्रणमा लिन्छौं ।’ प्रवक्ता राईले भने । सहजरुपमा सन्दीप आएमा भने इन्टरपाेल लगाउन नपर्ने उनले बताए ।

साथै उनले राष्ट्रिय टिमको कप्तान जस्तो मान्छे प्रतियोगिता खेल्न विदेश जानु अघि कसरी बाहिर गयो भन्ने एंगलबाट पनि अनुसन्धान हुने उनको भनाई छ ।

कमेन्टहरु