जबरजस्ती करणी मुद्दामा पल शाहले पाए सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर


काठमाडौं, भदौ २१ । नवलपुर जिल्ला अदालतबाट नायक पल शाहले जबरजस्ती करणी मुद्दामा सफाई पाएका छन् । मंगलबार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् ।
बलात्कारको मुद्दाबाट सफाई पाएपनि अभियुक्त शाह बाल यौन दुरुपयोगमा दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ ।
नवलपुर जिल्ला अदालतबाट सफाई पाएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन अवस्थामै रहेको छ । तनहुँ जिल्ला अदालतबाट समेत सफाई पाएपछि र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि बल्ल उनी थुनामुक्त हुनेछन् ।























