मुख्य समाचार

राष्ट्रियसभाबाट कारागार विधेयक पारित

नवलपुर टुडे
२०७९ भदौ २१ | मध्यान्ह ०३:०५ बजे

काठमाडौँ, भदौ २१ । राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७९ पारित गरेको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीहरूको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताए । उनले कारागारमा पनि संरचनाले धान्नेभन्दा बढी बन्दीहरु रहेको बताउँदै आचरण सुधारेकालाई बाहिर निकाल्न पाए कारागारमा सहजता हुने बताए ।

त्यसैगरी बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गरेको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पस्तुत गरेको प्रतिनिधि सभाबाट शन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

कृषिमन्त्री मृगेन्द्र कुमार सिंहले प्रस्तुत गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ लाई बैठकले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ २६ गते आईतबार दिउँसो १२ः५९ बजे बस्नेगरी बोलाइएको छ ।

कमेन्टहरु