भारतीय स्थल सेनाध्यक्ष पांडे आज नेपाल आउँदै


काठमाडौं, भदौ १९ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी पाँचदिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।
नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ ।
यस्तै, उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्नेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ ।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम पनि तय भएको सेनाले जनाएको छ ।























