मुख्य समाचार

विपद् जोखिम न्यूनीकरणको रकम सदुपयोग गर्न गृहमन्त्रीको निर्देशन

नवलपुर टुडे
२०७९ भदौ १७ | मध्यान्ह ०३:०५ बजे

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सरकारी कोषबाट उपलब्ध गराइएको रकम सदुपयोग गर्न निर्देशन दिएका छन्।

शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाणले यस्तो बताएका हुन्। उनले प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानुनअनुसार कोषको रकम खर्चिन आग्रह गरे। उनले भने, ‘यो वर्ष पनि बाढीपहिरोको कारण विभिन्न स्थानमा क्षति पुगेको छ।

प्राधिकरणसँग सरकारले प्रदान गरेको कोष भए पनि स्थानीय तह र स्थलगत रूपमा विपद् व्यवस्थापनका लागि त्यो खाले प्राविधिक जनशक्ति व्यवस्थापन भएको अवस्था छैन। सरकारका विभिन्न मन्त्रालय र मातहतका विभागलाई क्रियाशील बनाएर सहयोग र समन्वय गर्नुपर्ने अवस्था छ। बाढीपहिरोले क्षति भएका ठाउँमा स्थानीय पालिकालाई नै जिम्मा दिएर सक्रिय बनाउन प्राधिकरण र मन्त्रालय प्राविधिक सहयोग लिन सक्नुपर्छ।’ विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमै सदुपयोग हुनुपर्ने उनको भनाइ छ।

गृहमन्त्री खाणले यो वर्ष पनि वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ठूलो क्षति भएको बताए।

कमेन्टहरु