मुख्य समाचार

बुटवलको देवीनगरमा स्मृति पार्क निर्माण हुने, नगर प्रमुख पाण्डेयद्वारा शिलान्यास

नवलपुर टुडे
२०७९ भदौ १७ | मध्यान्ह ०३:०५ बजे

बुटवल । रुपन्देहीको बुटवलस्थित प्रगतिनगरमा स्मृतिपार्क निर्माण हुने भएको छ । आज एक कार्यक्रमका बीच नगर प्रमुख पाण्डेयले शिलान्यास गरेका हुन ।

सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगीकार गर्दै बुटवलको विकासमा केन्द्रित हुने योजनाका साथ बुटवल उपमहानगरपालिकाले बुटवल-११ मा विभिन्न नेताहरूको स्मृतिमा पार्क निर्माण गर्न लागेको हो ।

नेपाली कांग्रेसका संस्थापक स्व. बीपी कोइराला, कम्युनिस्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र बुटवलका पूर्वनगरप्रमुख स्व. सूर्यप्रसाद प्रधानको स्मृतिमा पार्क निर्माण गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले
बताए । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएर पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमका बीच उनले पार्कको शिलान्यास गरेका हुन् ।

पार्क १७ कठ्ठा १४ धुरमा बन्ने नगर प्रमुख पाण्डेयले बताए । उनले बुटवललाई बुटवलबासी र सबै राजनीतिक दलको अपनत्व हुने गरी पहिचान स्थापित गर्न आवश्यक रहेकाले सहमति, सहकार्य, एकता र मेलमिलापको नीति लिएर अघि बढ्ने जनाए ।

‘यो पार्कमार्फत बुटवल सबैको हो र हामी बुटवलका लागि हौं भन्ने भावना जागृत गराउनका लागि पनि यो पार्कले देशभर सन्देश दिनेछ,’ उनले भने, ‘यहाँको विकासका निम्ति हामी सबै मिलेर अघि बढ्नु आवश्यक छ; यसले बुटवललाई देशकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्न मद्दत गर्नेछ ।’

नगरप्रमुख पाण्डेयले अव्यवस्थित बसोबास रहेको क्षेत्र नजिकै बन्ने पार्कले स्थानीयलाई समेत अपनत्वको भावना जगाउने र स्थानीयले पार्कको संरक्षण गर्नुपर्नेमा जोड दिए । गत जेठ २५ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि शालिकसहितको पार्क निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन भएको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले बताए ।

कमेन्टहरु