मुख्य समाचार

मन्त्री चौधरीद्वारा कृष्णनगरका मदरसाहरूको अवलोकन, मदरसामा सहयोग गर्ने प्रतिबद्धता

नवलपुर टुडे
२०७९ साउन ३१ | मध्यान्ह १०:०४ बजे

कृष्णनगर, साउन ३१ । कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्र रहेको जैद बिन सावित, आयशा गर्ल्स कलेज झण्डानगर, जामिया सिराजुल उलुम अल्सलफिया झण्डानगर मदरसाको अनुगमन तथा अवलोकन नेपाल सरकारका शहरी विकासमन्त्री मेट मणी चौधरीको टोलीले अनुगमन गरेको छ । मन्त्रीसँगै शहरी विकास मन्त्रालयका सहसचिव पदम मैनाली, महानिदेशक सुरेन्द्र मान श्रेष्ठलगायत अन्यको सहभागिता रहेको थियो ।

अवलोकनका क्रममा रहेका मन्त्री चौधरीलाई जामिया सिराजुल उलुम अल्सल्फिया विद्यालय परिवारले भव्य स्वागत तथा सम्मान कार्यक्रमसमेत राखेको थियो । स्वागत तथा सम्मान कार्यक्रमको अध्यक्षतामा जामिया सिराजुल उलुम अल्सल्फियाका अध्यक्ष समिम अहमद नदवी, प्रमुख अतिथिमा शहरी विकास मन्त्री मेट मणी चौधरी, विशिष्ट अतिथिमा शहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्र मान श्रेष्ठ, शहरी विकास मन्त्रालयका सहसचिव पदम मैनाली अतिथिमा लंक बहादुर हमाल, अब्दुल रौफ साथै जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाका प्रवक्ता मौलाना मशहुद खां नेपाली लगायत अन्य रहेका थिए ।

स्वागत तथा सम्मान कार्यक्रममा कुरान शरीफको पाठ गरि कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शहरी विकास मन्त्री मेट मणी चौधरीले यहाँका मदरसामा विद्यार्थीहरूको चाप बढि रहेको र मुस्लिम समुदायको नेपाल देश निर्माणमा ठूलो योगदान रहेको स्मरण गराउदै मुस्लिम समुदायले आफ्नो मतको सदुपयोग गरि मुस्लिम प्रतिनिधित्व चयन गरेर आफ्नो हक संरक्षण गर्नुपर्ने कुरामा जोड दिदै जामिया सिराजुल उलुम अल्सल्फियाको पर्खालका लागि तत्काल पहल गर्ने बताउदै होस्टल, डाईनिंग हल, कम्प्यूटर हल तथा भौतिक संरचनाको मर्मत सम्भार मध्ये एकमा १५ दिन भित्रै नतिजा आउने उपस्थित माझ वचनबद्धता गर्नुभयो l

कार्यक्रममा बोल्दै जामिया सिराजुल उलुम अल्सल्फिया झण्डानगरका प्रवक्ता मौलाना मशहुद खां नेपालीले मदरसा सदियौंदेखि चलिरहेको तर जुन तरिकाले राज्यबाट सेवा सुविधा पाउनुपर्ने हो त्यो पाउन नसक्नु आफैमा गम्भीर प्रश्न खडा रहेको प्रष्ट पार्दै कर्मचारी तथा शिक्षकहरूको तलब बढ्नु सराहनीय रहेको तर मदरसा शिक्षालाई समेत मूल प्रवाहीकरणमा ल्याएर मदरसामा पढाउने शिक्षकको समेत उचित व्यवस्थापन गर्नुपर्ने माग गरे । मदरसाहरूको अवस्थाको बारेमा मन्त्री चौधरीलाई अवगत गराउदै मदरसाको सम्पूर्ण व्यवस्थापनमा राज्यले ध्यान नदिएकाले मुस्लिम समुदायमा निराशा रहेको मन्त्री चौधरीलाई अवगत गराए ।

कार्यक्रममा जामिया सिराजुल उलुम अल्सल्फियाका अध्यक्ष समिम अहमद नदवीले मन्त्री चौधरी हाम्रो विद्यालयको अनुगमन गरेकोमा विशेष आभार प्रकट गर्दै अतिथिहरूलाई दोसल्ला ओढाई तथा नेपाली अनुबादको कुरान शरीफ कोसेली स्वारुप दिएका थिए l सो कार्यक्रममा विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, पत्रकार, नेता, सामाजिक व्यक्ति, शिक्षा प्रेमी लगायतको उपस्थित रहेको थियो l

कमेन्टहरु