बर्दिबासका ६२ नगरशिक्षक आन्दोलित, शैक्षिक गतिविधि अस्तव्यस्त


महोत्तरी । बर्दिबासमा एकैपटक ६२ जना नगरकोटाका शिक्षक हटाएपछि बर्दिबास नगरपालिकाको मुलगेटमा शिक्षकहरु धर्नामा बसेका छन् ।
गत भदौमा क्रमिक रुपमा नगरपालिकाले परीक्षा लिएर करारमा नियुक्त गरेका ती ६२ जना शिक्षकलाई बिनाकारण हटाएपछि उनीहरु आन्दोलित भएका हुन्।
नियुक्तिपत्रमा जे सुकै लेखिए पनि बिनाकसुर शिक्षकलाई हटाउनु नहुने शिक्षिका सविता बिकले बताइन्। ५१ वटा सामुदायिक विद्यालयमा कार्यरत रहेका ६२ जना शिक्षकहरुलाई हटाएपछि अहिले पठनपाठन अस्तव्यस्त रहेको छ।
गत साउन २१ गतेका दिन विद्यालयमा नगर शिक्षकलाई हाजिरी नगराउनु भनि गरिएको निर्णय शिक्षकमाथि अन्याय भएको नेपाल शिक्षक महासंघ महोत्तरीका सचिव कुमार घिमिरेले बताए ।
रोजगारी कसैले कसैको मार्न नहुने तर्क गर्दै सचिव घिमिरेले नगर शिक्षकको हकहितको लागि नेपाल शिक्षक महासंघको ऐक्यवद्धता रहेको जनाएका छन्। सो स्थानमा कुनै पनि हालतमा पुनः करारमा शिक्षक नियुक्त नहुने बिकले जोड दिइन्।
एक वर्षका लागि नगर शिक्षकका रुपमा उनीहरुलाई नियुक्त गरिएको शिक्षा शाखा प्रमुख गणेश दाहालले बताए। नगरपालिकाको कार्यपालिका बैठकले उनीहरुको म्याद नथप्ने निर्णय गरिएको हुँदा सोहीअनुसार कार्यान्वयन गरिएको शिक्षा शाखा प्रमुख दाहालले जानकारी दिए।
वर्खास्तमा परेका शिक्षकहरु आन्दोलित भएपछि अहिले नगरको शैक्षिक गतिविधि अस्तव्यस्त रहेको दाहालले स्वीकार गरेका छन्। शिक्षक नवीकरण नगराउँदा करार म्याद थप हुन नसकेको नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले जानकारी दिएका छन्। अब करार अवधि थप गर्ने कुनै कानुनी आधार नरहेकोले शिक्षक स्वतः पदमुक्त भएको नगरप्रमुख क्षेत्रीले बताए।
बर्दिबासलाई शैक्षिक हब बनाउने अभियानमा विद्यालयमा शिक्षकको कमी भएपछि पूर्वमेयर विदुरकुमार कार्कीले गत वर्ष खुल्ला प्रतिस्पर्धामार्फत प्राथमिक तहदेखि माध्यमिक तहसम्मका ६२ जना करारका शिक्षक भर्ना गरेका थिए।























