मुख्य समाचार

एनेस्थेसियनले छाडेपछि मध्यबिन्दु अस्पतालमा शल्यक्रिया बन्द

नवलपुर टुडे
२०७९ साउन २३ | बिहान ०८:०४ बजे

नवलपरासी, साउन २३ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ।

अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताए। ‘चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाड्नुभयो। शल्यक्रियाको बेला बेहोस बनाउने विषयमा चिकित्सकले धेरै जोखिम मोल्न चाहेनन् र सेवा नै बन्द भएको छ,’ उनले भने।

जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, सीएस लगायतको शल्यक्रिया सेवा हुँदै आएको थियो। सामान्य घाउको चिरफार र शल्यक्रिया बाहेकको शल्यक्रिया सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताए। अहिले अस्पतालमा सजर्न चिकित्सकसमेत छैनन्।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरबहादुर थापाको सरुवा भएपछि मेडिकल सुपरिटेन्डेन्टको पद रिक्त भएको छ।

अस्पतालमा हाल स्वीकृत दरबन्दी ३१ जनाको भए पनि सात मात्रै कर्मचारी छन्। १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिए पनि सोहीअनुसार दरबन्दी सिर्जना गर्ने र कर्मचारी पठाउने काम भने हुन सकेको छैन।

थोरै कर्मचारी रहँदा जिल्ला अस्पतालबाट सोचेअनुसार प्रभावकारी रुपमा सेवा प्रदान गर्न कठिन हुने गरेको सूचना अधिकारी सुवेदीले बताए। कोरोनाका समयमा केही करारका कर्मचारी राखिएको थियो। उनीहरूको समेत करार सकिएको छ।

अहिले केही दैनिक ज्यालादारीमा कर्मचारी राखेर सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको उनले बताए। रासस

कमेन्टहरु