मुख्य समाचार

निहारिका राजपूत सर्वोच्च अदालत परिसरबाट पक्राउ

नवलपुर टुडे
२०७९ साउन २२ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । जबरजस्ती करणी मुद्दा दर्ता गराएकी निहारिका राजपूतलाई प्रहरीले सर्वोच्च अदालतबाट पक्राउ गरेको छ।

आफूमाथि बलात्कार भएको र न्याय नपाएको भन्दै आन्दोलनरत राजपूतलाई आइतबार बिहान प्रहरी वृत्त सिंहदरबारको टोलीले अदालत परिसरबाट पक्राउ गरेको हो।

ब्यानर बोकेर निषेधित क्षेत्रमा गएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन्। आफूलाई ‘कुमारी आमा’ भनेर चिनाउने राजपूत आफूमाथि शिवराम श्रेष्ठले बलात्कार गरेको भन्दै आरोपितलाई कारबाही गर्नुपर्ने, आफ्नो बच्चाको डीएनए जाँच गर्नुपर्ने मागसहित काठमाडौं माइतीघरमा गत असारमा अनसन बसेकी थिइन्।

सरकारसँग पाँच बूँदे सहमति भएपछि अनसन तोडेकी उनको प्रशासनले कानुनी लडाइँमा आफूलाई सहयोग नगरेको आरोप छ। धनुषा क्षीरेश्वरनाथ नगरपालिका ३ का २२ वर्षीय शिवराज श्रेष्ठले ०७६ कार्तिक ६ गते कोठामा कोही नभएको मौकामा ललाइफकाइ, डर धम्की देखाएर आफूमाथि बलात्कार गरेको आरोप उनको छ । त्यसपछि उनले जबरजस्ती करणी मुद्दा दायर गरेकोमा मुद्दा चलिरहेकै समयमा २०७७ भदौ ०५ गते छोरालाई जन्म दिएकी थिइन्।

२०७८ माघ २४ मा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले निहारिका बलात्कृत नभएको निष्कर्ष निकाल्दै आरोपीलाई सफाइ दिएको थियो। उनले २०७८ फागुन १२ गते जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकोमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ।

कमेन्टहरु