हर्क साम्पाङको अभियानमा सुदन किरातीको ऐक्यबद्धता, प्रचण्डलाई साम्पाङको निम्तो


धरान । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातीले धरान उपमहानगरपालिका र धरानवासीले सुरु गरेको श्रम अभियानमा ऐक्यबद्धता जनाएका छन् ।
सांसद किरातीले शनिबार धरानको सरदु जलाधारक्षेत्रमा भएको वृक्षारोपणमा भौतिक सहभागिता जनाएर ऐक्यबद्धता व्यक्त गरेका हुुन् । शनिबार बिहानै जलाधार क्षेत्रमा पुगेर त्यहाँ वृक्षारोपण गरेका हुन् । श्रम गरेसँगै वृक्षारोपणमा सहभागीहरु र धरानका संचारकर्मीहरुसँग किरातीले छोटो कुराकानी गरेका थिए ।
सांसद किरातीले कुरा गर्दै भने, ‘हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकाले देखाएको श्रम अभियानमा ऐक्यबद्धता र महान धरानवासी जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दछु ।’ ‘जनतासँग सांसद’ कार्यक्रमअन्तर्गत हरेक महिना गृहजिल्लामा नागरिकसँग संवाद गर्दै र उनिहरुको खेत–बारीमा श्रमसमेत गर्दै आएका किरातीले भने, ‘पहिले यस्तो श्रम माओवादीहरुले गर्ने गर्थे, तर अहिले अरुको संगतले बिग्रियौं ।’ उनले राजनीतिमा श्रम संस्कृतिलाई स्थापित गर्न सबैले धरानबाट सिक्न पनि आग्रह गरे ।
कुराकानीको क्रममा सांसद किरातीले भने, ‘आज विश्व मानव समुदायमा गम्भीर खाद्य संकट देखा पर्दैछ । उत्पादनमार्फत आत्मनिर्भर बन्न सकेनौं भने आजको विश्वमा बाँच्न गाह्रो हुनेछ ।’ आयातमा निर्भर हुनुपर्दा र उत्पादनमा जोड नदिदाँ समुदायसमक्ष संकट देखा पर्दै गएको किरातीले बताए । उनले बिग्रिएका राजनीतिक कार्यकर्ताहरुतर्फ इंगित गर्दै भने, ‘एकथरि मान्छेहरुले भन्ने गर्थे कि जनताहरु बिग्रिएर उपभोक्ता समितिमार्फत भ्रष्टाचार गर्छन् । तर, धरानका महान नागरिकहरुले पुष्टी गरे की नागरिकहरु होइन, हामी राजनीतिक कार्यकतार्हहरु चाहिँ बिग्रिएका हौं ।’
आफ्नो अभियानमा सहभागी हुन आइपुगेकोमा मेयर हर्क साम्पाङले खुसी व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई समेत आफ्नो अभियानमा सरिक हुन निम्तो पठाएका छन् । ‘सांसदज्यू त आइदिनुभयो । अब प्रचण्डलाई पनि निम्तो भनिदिनुप¥यो’ मेयर साम्पाङले सांसद किरातीलाई भने ।
किरातीले मेयर हर्क साम्पाङलाई सुझावसमेत दिए । श्रम अभियानलाई नरोक्न तथा निरन्तरता दिन, राज्यको रुपान्तरण हुन नसकेको संयन्त्रबाट जोगिन र हरेक वडाको फरक जोन बनाइ उत्कृष्ट बगैंचा निर्माण गर्नेलाई पुरस्कृत गर्न किरातीले साम्पाङलाई सुझाव दिएका हुन् । किरातीले सुझावकै रुपमा जनशक्ति धेरै भएकोले उचित व्यवस्थापन गर्नुपर्ने औैंल्याएका थिए ।























