परराष्ट्रमन्त्री खड्का साउन २४ गते चीन भ्रमणमा जाने


काठमाडौं, साउन २१ । परराष्ट्रमन्त्री डा. नारायण खड्का साउन २४ गतेदेखि २६ गतेसम्म चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षीको निमन्त्रणामा खड्का तीन दिन चीन भ्रमण जान लागेका हुन् ।
चीन र नेपालका परराष्ट्रमन्त्रीबीच साउन २५ गते दुई देशको सम्बन्धका विषयमा भेटवार्ता हुनेछ । मन्त्री खड्काको भ्रमणका बारेमा एजेन्डा तयार भइनसकेको भन्दै प्रवक्ता सेवा लम्सालले भ्रमणका क्रममा नेपाल र चीन सम्बन्धका यावत् पक्षका विषयमा छलफल हुने जानकारी दिइन् । ‘भ्रमणका अन्य विषयका बारेमा भने सबै मन्त्रालयसँग छलफल गरेपछि मात्र एजेन्डाका विषयमा छलफल हुन्छ ।’ उनले भनिन् ‘नेपाल र चीनसँग जोडिएका विषयमा स्वाभाविक रूपमा छलफल हुन्छ ।’
भ्रमणका एजेन्डा तत्कालै सार्वजनिक गर्दा परिपक्व नहुने तर्क गरेकी प्रवक्ता लम्सालले परराष्ट्रले मन्त्री खड्कालाई गत मार्चमै चीन भ्रमणको निम्तो आइसकेको बताएकी छन् । मन्त्री खड्काको चीन भ्रमणको कुरा बेइजिङले पनि शुक्रबारै पुष्टि गरेको छ । शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले मन्त्री खड्काको चीनको भ्रमणको विषयमा स्पष्ट पारेकी हुन् । पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले नेपाल र चीन असल छिमेकी तथा साझेदार भएको बताउँदै दुई देशका विदेशमन्त्रीहरूले एक वर्षभन्दा कम अवधिमा गरेको भ्रमणले चीन र नेपालबीचको आपसी विश्वास र मित्रतालाई झल्काउने बताइन् ।
चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाल र दक्षिण कोरियाली विदेशमन्त्रीलाई एकैसाथ सानतोङ प्रान्तको छिङ्ताओमा स्वागत गर्नेछन् । विश्वचर्चित छिङ्ताओ बियर महोत्सवको ३२ औं संस्करण समापन भएको भोलिपल्ट उक्त कार्यक्रम राखिएको छ । मन्त्री खड्काको पनि यो पहिलो चीन भ्रमण हो । चिनियाँ विदेशमन्त्री याङ यीले परराष्ट्रमन्त्री खड्काको स्वागतमा रात्रिभोजको समेत आयोजना गर्ने तय भएको मन्त्रालयले जानकारी दिएको छ ।
अमेरिकी सभामुखको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई नेपालले नजिकबाट हेरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल सधैं ‘एक चीन नीति’को पक्षमा रहेको बताइन् । उनले ताइवानको पछिल्लो घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताउदै भनिन् ‘दुवै देशले एकअर्कोको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको समर्थन गर्दै आएको छ । जानकारी गराउन चाहन्छौं ।’























