बादरले तरकारी सखाप पारेपछी, किसान मर्कामा


कञ्चनपुर, साउन १८ : शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका व्यावसायिक तरकारी खेतीमा संलग्न किसानले बाँदरका कारण हैरानी खेप्नुपरेको छ। बारीमा लगाएको तरकारी बाँदरले खाइदिन थालेपछि किसान मारमा परेका हुन्।
लौका, काँक्रा, बोडी, करेलालगायतका तरकारी बाँदरले नोक्सान गर्दैआएका छन्। ‘गाउँ नजिकैको कालिका सामुदायिक वन क्षेत्रबाट आउने बाँदरको हुलले बारीमा फलेका तरकारी केही बाँकी राख्दैनन्,’ स्थानीय तेजबहादुर चौधरीले भने, ‘असारयता किसानको लाखौँ मूल्यको तरकारी बाँदरले खाइसेको छ।’
उनको मात्रै बाँदरले ३५ हजार मूल्यभन्दा बढीको तरकारी नोक्सानी गरेको छ। अर्का व्यावसायिक तरकारी खेतीमा संलग्न किसान वीरेन्द्र चौधरीको २० हजार बराबरको तरकारी बाँदरले खाएको छ। दैनिक बाँदरको हुल गाउँमा पस्ने गरेको उनले बताए।
स्थानीय बासिन्दाले भगाउँदा बाँदर सामुदायिक वनका नजिकका रुखमा बस्ने र तरकारी बारीमा कोही नभएको बेला हुलका हुल आएर एकैपटक पूरै बारीको तरकारी खाने र तोडेर लैजाने गरेको स्थानीय चन्द्रबहादुर चौधरीले बताए। ‘बालबालिकाले धपाउन जाँदा टेर्दैनन्,’ उनले भने, ‘आक्रमण गर्न आउँछन्। बाँदरकै लागि बारीमै ढुकेर बस्नुपर्ने अवस्था छ।’
बजारमा बेच्नका लागि तयार भएको मकैसमेत बाँदरले बाँकी नराखेको उनले बताए। बेलडाँडी गाउँका अधिकांश किसान तरकारी खेतीमा संलग्न छन्। बाँदरको हुल नै बारीमै पसरेर तरकारी नोक्सानी गर्न थालेको छ।
बाँदर नियन्त्रणका लागि स्थानीय किसानले माग गरेका छन्। बाँदर नियन्त्रणका लागि आग्रह गरिँदै आए पनि कुनै पनि निकायले यसबारे चासो नदिएको किसानको गुनासो छ। (रासस)























