मुख्य समाचार

१ सय ४८ म्यानपावरलाई ५० हजार रुपैयाँका दरले जरिवाना

नवलपुर टुडे
२०७९ साउन १५ | बिहान ११:०४ बजे

काठमाडौ । वैदेशिक रोजगार विभागले १ सय ४८ म्यानपावर कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ । ती म्यानपावरले तोकिएको मितिमा विज्ञापन प्रकाशित नगरेको अभियोगमा विभागले कारबाही गरेको हो ।

विभागले साउन ३ र ४ गतेको मितिमा विभिन्न राष्ट्रिय दैनिकमा प्रकाशन गर्न विभागबाट पूर्व स्वीकृतिको अनुमति लिएर विज्ञापन नगर्ने १ सय ४४ र अनुमतिबिना नै विज्ञापन गर्ने ४ गरी १ सय ४८ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐनको दफा ४९ अनुसार ५० हजार रुपैयाँका दरले जरिवाना गरी कारबाही गरेको विभागका महानिर्देशका शेषनारायण पौडेलले जानकारी दिए ।

विभागले त्यससम्बन्धी सूचना शुक्रबार नै आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । ऐनको दफा ४९ मा पूर्व स्वीकृति लिई विज्ञापन नगरेमा वा स्वीकृति नलिई विज्ञापन गरेमा सचेत गराउने देखि ५० हजार रूपैयाँ जरिवाना गरी त्यस्तो विज्ञापन रद्द हुने व्यवस्था छ ।

त्यस्तै विज्ञापन प्रकाशित गरेर कामदार छनोट भएपछि विभागलाई जानकारी नदिएमा पनि ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । १ सय ४८ कम्पनीलाई गरिएको जरिवानाबाट विभागले करिब पौने १ करोड रकम राजश्व समेत संकलन भएको छ ।

कमेन्टहरु