मुख्य समाचार

बालेनलाई झट्का : बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न पुनः अवरोध

नवलपुर टुडे
२०७९ साउन १२ | मध्यान्ह १२:०४ बजे

काठमाडौं । उपत्यकाको फोहोर विसर्जन स्थल धादिङको बञ्चरेडाँडाका स्थानीयले काठमाडौं महानगरका फोहोर बोकेका गाडी रोकेका छन्।

महानगरबाट फोहोर बोकेर बञ्चरेडाँडा गइरहेका गाडीलाई स्थानीयले अवरोध गरेपछि बाटोमै रोक्नुपरेको काठमाडौं महानगरका नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले बताए । महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडा पुग्न सकेका छैनन्।

काठमाडौं महानगरले एक सातादेखि नउठाएको फोहोर बिहीबारदेखि उठाइने सूचना जारी गरेको थियो। बिहीबार बिहानैदेखि फोहोर संकलन थालेर बञ्चरेडाँडामा विसर्जन गर्न लगिँदै थियो । फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडा पुग्ने सडक निर्माण भइरहेकाले महानगरले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो।

स्थानीयले अवरोध गरेपछि एक सातापछि उठ्न सुरु भएको फोहोर पुनः महानगरकै सडकमा थुप्रिने आशंका बढेको छ। स्थानीयले सडक निर्माण पूरा नहुँदासम्म फोहोर ल्याउन नदिइने बताएका छन्।

कमेन्टहरु