प्रेस युनियनको महाधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने


हेटौंडा, साउन ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको भोलि साउन ६ गते हेटौँडामा उद्घाटन गर्ने भएका छन् । सो महाधिवेशन सञ्चालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको व्यवस्थापनलगायत अन्य व्यवस्थापन मिलाइसकिएको महाधिवेशन आयोजक स्थानीय समितिका अध्यक्ष कुमार अधिकारीले जानकारी दिए।
युनियनको साउन ६ र ७ गते हेटौँडामा सञ्चालन हुने महाधिवेशनमा नेपाल प्रेस युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र सात वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता रहने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गिरिजाप्रसाद अधिकारीले बताएका छन्। उनका अनुसार सोही महाधिवेशनबाट नेपाल प्रेस युनियनको आगामी नयाँ नेतृत्व पनि निर्वाचित हुने कार्यसूची रहेको छ।
उक्त महाधिवेशनमा सहभागी हुन आउनुभएका प्रतिनिधिलाई बागमती प्रदेशको राजधानी हेटौँडाका अतिरिक्त चितवनको सौराहा र बाराको अम्लेखगञ्जस्थितका होटलमा राख्ने प्रबन्ध र आवतजावतको लागि यातायातको सुविधा उपलब्ध गराइएको महाधिवेशन आयोजक आवास समितिका संयोजक रुपेश दुलालले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको भोलि हुने भ्रमणको कार्यक्रमलाई सफल तुल्याउन सुरक्षा निकायले आवश्यक तयारी पूरा गरिसकेका र स्थानीय बजारमा यातायात सञ्चालनको लागि वैकल्पिक मार्गको व्यवस्थापन मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताएका छन्।























