संसदीय समितिले सोधेका अधिकांश प्रश्नको जवाफ दिएको छु : जनार्दन शर्मा


काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिले सोधेका अधिकांश विषयमा आफूले स्पष्ट जवाफ दिएको बताएका छन्।
चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने विषयमा संसदीय छानबिन विशेष समितिले बिहीबार उनीसँग सोधपुछ गरेको थियो । उक्त समितिले राखेका जिज्ञासाका बारेमा आफूले स्पष्ट जवाफ दिएको शर्माले बताएका छन्।
संसदीय समितिको बैठकमा आफ्नो धारणा राखेर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘उहाँले सोध्नुभएका हरेक प्रश्नको जवाफ दिएको छु ।’ समितिको बैठकमा उनले बजेट ल्याउने क्रममा कुनै पनि अनाधिकृत व्यक्तिलाई प्रवेश नगराएको दावी गरेका छन्। उनले अर्थमन्त्रीको हैसियतमा आफैंले करको दर हेरफेर गरेको र त्यसमा अनाधिकृत व्यक्तिको संलग्नता नगराएको समेत स्पष्ट पारे ।
शर्माले विधि, नियम र कार्यविधिमा रहेर नै आफूले बजेट तय गरेको स्पष्ट पार्दै आफूलाई आरोप मात्र लगाइएको जिकिर गरे। चौतर्फीरुपमा आलोचना भएपछि शर्माले २२ असारमा अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए। सोही दिन प्रतिनिधिसभाले ११ सदस्यीय संसदीय समिति गठन गरेको थियो। अहिले समितिले बजेटमा करको दर हेरफेरका विषयमा छलफल र अनुसन्धान गरिरहेको छ।























