फेसबुकमा प्रेमको नाटक गरेर २५ लाख बढी ठगी गर्ने एक युवती पक्राउ


चितवन, असार २५ । चितवनमा प्रेमको नाटक गरेर २५ लाख रुपैयाँ ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुरको गैँडाकोट –११ की २६ वर्षीय सम्भावी पौडेल रहेकी छिन् ।
झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पौडेललाई असार १८ गते प्रहरीले पक्राउ गरेको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार फेसबुकबाट चिनजान भई प्रेम सम्बन्ध अगाडि बढाएका पौडेलले भरतपुर महानगरपालिका १ का ५३ वर्षीय विवाहित पुरुषसँग पटकपटक गरेर २६ लाख ४५ हजार ७०० रुपैँया लिएकी थिइन् ।
फेसबुकमा भएको निरन्तर कुराकानी र गफगाफले उनीहरु रेष्टुरेन्टमा प्रत्यक्ष भेटघाट गर्न थाले जसले गर्दा उनीबीचको सम्बन्ध झन प्रगाढ बन्यो । ती युवतीले आकर्षक ब्लोअप तस्विरहरु पुरुषलाई पठाउने गरेपछि पुरुष झनै युवतीको मायाझालमा फस्दै गए । उनले आफूलाई निकै भाग्यमानी पुरुषको रुपमा सोच्न थाले । तर, जब २५ लाख रुपैयाँ हात पारिन् तब ती युवतीको केटासँग कुराकानी बिस्तारै पातलिँदै गयो ।
केटाले म्यासेन्जर, फोनमा धेरै कुराकानी र भेटघाट गर्न खोजे पनि केटीले बेवास्ता गर्न थालिन् । त्यसपछि युवती बिस्तारै सम्पर्कबाट टाढिन थालिन् । यसरी प्रेमिकाबाट ठगिएपछि पुरुषले ठगीको आरोपमा चितवन प्रहरीमा निवेदन दिए । अहिले चितवन प्रहरीले ती युवतीमाथि ठगीको अभियोगमा मुद्दा चलाएको चितवन प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।























