पोखराको सुइँखेतमा बाढी पहिरोले डेढ सय घर डुबानमा

नवलपुर टुडे
२०७९ असार ११ | बिहान ११:०३ बजे

पोखरा, असार ११ । अविरल वर्षासँगै पोखराकाे विभिन्न ठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ । शनिवार बिहानै पोखरा – २५ सुईखेतमा डेढ सय घर डुबानमा परी विस्थापित भएका छन् ।
शुक्रबार बेलुकादेखि परेको अविरल वर्षापछि गएको पहिरोले खोला थुनिँदा सुइँखेत डुबानमा परेको हो । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँ प्रभावित डेढ सय घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए । बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएको उनको भनाई छ ।
यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रमा पनि सडक बगाएर यातायात अबरुद्द भएको प्रहरीले जनाएको छ ।























