स्कुल जाने क्रममा डोजरले फालेको ढुंगा लागेर एक किशोरको मृत्यु

नवलपुर टुडे
२०७९ जेष्ठ २६ | मध्यान्ह ०१:०२ बजे

गुल्मी, जेठ २६ । गुल्मीमा सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगा लागेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका – ३ का १४ वर्षीय गगन रायमाझीको ढुंगाले लागेर मृत्यु भएको हो ।
बिहीबार बिहान स्कुल जाने क्रममा किशोरलाई ढुंगाले लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए । डीएसपी खरेलका अनुसार सडक निर्माण भइरहेको बेला डोजरले फालेको ढुंगाले लागेर गम्भीर घाइते भएका किशोरको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा लैजादै गर्दा किशोरको बाटोमै मृत्यु भएको हो । अहिले शवलाई पोष्टमार्टमको लागि अस्पतालमा राखिएको र डोजर चालकलाई नियन्त्रणमा लिइएको डीएसपी खरेलले जानकारी दिए ।























