वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा घरको चौथो तल्लाबाट खसेर गम्भीर घाइते

नवलपुर टुडे
२०७९ जेष्ठ २४ | मध्यान्ह ०२:०२ बजे

काठमाडौं, जेठ २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चारतला माथिबाट खसेर गम्भीर घाइते भएकी छिन् ।
सोमबार आफ्नै घरको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । उनी नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सदस्यसमेत हुन् । पोखरेलको दायाँ खुट्टा दुई ठाउँमा भाँचिएको छ भने दायाँ हात पनि भाँचिएको छ । उनको कम्मरको हड्डी भाँच्चिनुका साथै मुहारमासमेत चोट लागेको छ ।
नेता पौडेलले मंगलबार बिहानै अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । चिकित्सकका अनुसार पोखरेललाई ‘मल्टिपल इन्जुरी’ देखिएकोले अझै केही दिन आइसीयुमै राखेर उपचार गरिनेछ ।























