माधव नेपालसहित १४ सांसदको रिट आजको पेशीबाट हटाइयो

जगत ठाडा मगर
२०७८ फाल्गुन १ | मध्यान्ह ०३:११ बजे

काठमाडौं, फागुन १ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको कारबाही र सो पार्टी खारेज गर्न दायर भएको रिटमा सुनुवाइपछि पेशी हटाइएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा रिट पेशी तोकिएको थियो । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले पेशीमा चढे पनि सो रिट आज हटाउन माग गर्दै निवेदन दिएपछि उक्त रिटलाई पेसीबाट हटाइएको हो ।
आदेशमा भनिएको छ, ‘यसमा प्रत्यर्थीमध्येको लुम्बिनी प्रदेश सभा सचिवालय समेतबाट प्रतिरक्षामा खटिएको अवस्थामा रूघा खोकी र ज्वरो समेतले ग्रस्त भई कोभिड पोजेटिभ जस्ता लक्षणहरू देखिई आइसोलेसनमा रहेको कारण आजको पेशी हटाई पाऊँ भनी प्रदेश नं. ५ का मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीको निवेदन पर्न आएको हुँदा आजको पेशीबाट हटाइएको छ ।’






















