राप्रपाबाट अलग हुने कमल थापाको घोषणा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।
उनले मंगलबार नै एक विज्ञप्ति जारी गरी भनेका छन् – ‘अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी कियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’
।
थापाले राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरूबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति सदैव आभारी रहने बताएका छन् । उनले राप्रपामा कसैसँग पनि वैरभाव नरहेको भन्दै सबैको भलो होस् भन्ने कामनासमेत गरेका छन् । ‘पार्टीमा रहँदा बिताएका क्षणहरुप्रति म सदैव गौरव गरिरहने छु,’ उनले भनेका छन् ।























