तिहारमा मिठाई र बत्तीको व्यापार

नवलपुर टुडे

सारांश
- तिहार पर्व नजिकिएसँगै सुनसरीको धरान बजारमा किनमेल गर्ने सर्वसाधारणको अत्यधिक भीड बढेको छ।
- बजारमा दियो, मिठाई, फूलमाला र झिलिमिली बत्तीको व्यापार बढेपछि साना व्यापारीले राम्रो आम्दानी गरिरहेका छन्।
- बजारको भिडभाड व्यवस्थित गर्न र सुरक्षा सुनिश्चित गर्न उद्योग वाणिज्य सङ्घले प्रशासनसँग समन्वय गरिरहेको छ।

सुनसरी । तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ ।
धरान उपमहानगरपालिका–२ का नकुल दास बिहान ५ः०० देखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघरको सडकपेटीमा किसमिस, नरिवल, मिठाई, झिलिमिली बत्तीलगायत तिहारका सामग्री बिक्री गर्दै तिहार खर्च जुटाइरहेका छन् ।
तिहार नजिकिएसँगै धरानका मुख्य बजार तथा सडकपेटीमा अहिले सानाठूला व्यापारी तिहारका सामग्री बिक्री गर्न व्यस्त छन् । दियो, रङ, मिठाई, किसमिस, पूजाका लागि प्रयोग हुने माटाका पाला, फूलमाला, झिलिमिली बत्ती र अबिरलगायत सामग्री बिक्रीका लागि राखिएका छन् । बजारका हरेक गल्ली र सडकपेटीमा खुलेका सानासाना अस्थायी पसलमा बिहानदेखि साँझसम्म ग्राहकको घुइँचो लाग्ने गरेको छ ।
दसैँपछि नेपालीको दोस्रो ठुलो पर्वका रूपमा चिनिने तिहारलाई फूलमाला, रङ र उज्यालोको पर्वका रूपमा पनि लिने गरिन्छ । यस अवसरमा घर सजाउने, दियो बाल्ने, मिठाई तथा मसला किन्ने र झिलिमिली बत्तीले घर उज्यालो बनाउने चलन छ । त्यसैले तिहारमा अन्य समयको तुलनामा यस्ता सामग्रीको माग र बिक्री बढी हुने गरेको व्यापारी बताउँछन् ।
धरान सब्जीमन्डीका झिलिमिली बत्तीका व्यापारी राजन कोइरालाले पछिल्लो समय परम्परागत रूपमा दियो बाल्ने चलन घट्दै गएको र आधुनिक झिलिमिली बत्तीको माग बढेको बताए । उनले भने, “अहिले झिलिमिली बत्तीको बिक्री राम्रो छ । अन्य चाडपर्व र विवाहको मौसममा थोरैमात्र बिक्री हुने भए पनि तिहारमा अत्यधिक बिक्री हुन्छ ।”
अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलसम्मका व्यापारीले समेत मौसमी व्यापारका रूपमा झिलिमिली बत्ती बिक्री गरिरहेका छन् । व्यापारीले दसैँ आउनुभन्दा केही महिनाअघि नै तिहारलाई लक्षित गरी बत्ती ल्याउने गरेका छन् । पछिल्ला केही दिनयता भने दैनिक ठुलो परिमाणमा झिलिमिली बत्ती बिक्री भइरहेको व्यापारी कोइरालाले बताए ।
धरानको मुख्य बजार, भानुचोक, सब्जीमण्डी र पुरानो बजारलगायत क्षेत्रमा बत्ती, फूलमाला तथा तिहारका अन्य सामग्री किन्ने र बेच्नेको भ्याइनभ्याइ छ । तिहारका लागि आवश्यक सामग्री खरिद गर्न आउने सर्वसाधारणको भीडले बजार थप व्यस्त बनेको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले तिहार सुरु भएसँगै बजार सक्रिय बनेको र साना व्यापारीले बिहानदेखि साँझसम्म पसल सञ्चालन गरेर राम्रो आम्दानी गर्ने अवसर पाएको बताए । उनले भने, “तिहारमा विशेषगरी सडकपेटी र गल्लीमा पसल सञ्चालन गर्दा भीड र सडक व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिने गरेको छ । कहिलेकाहीँ भीडका कारण पसल वरिपरि आवागमन गर्नसमेत कठिन हुन्छ । यस्तो अवस्थामा सङ्घले प्रशासनसँग समन्वय गरेर बजार व्यवस्थित र सुरक्षित राख्न सहयोग गरिरहेको छ ।”
सडकपेटीमा पसलको उचित व्यवस्था, भीड व्यवस्थापन र सुरक्षा मापदण्ड लागू गरी ग्राहक तथा व्यापारी दुवैको सुरक्षा सुनिश्चित गर्ने काम भइरहेको उहाँले बताउनुभयो । तिहारको समयमा साना व्यापारीले पनि केही दिनको व्यापारबाट आम्दानी गर्ने अवसर पाउने भएकाले यसले सहरको स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने महासचिव खतिवडाको भनाइ छ । बजारमा ग्राहकको चहलपहल बढेसँगै साना व्यापारीमा पनि उत्साह भने थपिएको छ ।

आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुग्यो

विजयनगरमा पनि मनाइयो धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिव

बहुवर्षीय परियोजना स्वीकृत भएसँगै झापाको कमल गाउँपालिकामा आदिवासी रङ्गशाला निर्माणले गति लिने
अरुपनि पढ्नुहोस
सबै
समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री
















