Opens in a new tab

मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर

नवलपुर टुडे

325Shares

सारांश

  • महोत्तरीका किसानले केराको उत्पादन बढाउन बोटको सरसफाइ तथा कोथा छाँट्ने काम दीपावली र छठ पर्वको समयमा मात्र गर्ने गरेका छन्।
  • पर्वको बेला स्वागतद्वार बनाउन केराको थामको माग उच्च हुने हुँदा किसानले छाँटिएका थाम बिक्री गरेर अतिरिक्त आम्दानी लिने गरेका छन्।
  • मिथिला संस्कृतिमा धार्मिक र सांस्कृतिक महत्त्व बोकेको केराखेती महोत्तरीमा करिब ३०० हेक्टर क्षेत्रफलमा मात्र सीमित रहेको छ।
dida bag ad

महोत्तरी ।  फलमा अत्यन्त गुणकारी र पौष्टिकताले भरिपूर्ण मानिने केरा मधेसको मिथिला क्षेत्रका सबैतिर पाइन्छ । केराको राम्रो उत्पादन लिन नियमित गोडमेल आवश्यक हुन्छ ।

यो गोडमेलमा केराका झ्याङमा धेरै कोथा (नयाँ बोट) बढ्न दिन हुँदैन । यसका लागि समयसमयमा कोथा छाँटेर तीनचार बोटमात्र एउटा झ्याङमा राख्नुपर्ने बागवानीविज्ञ बताउँछन् । यस्तो गोडमेललाई किसान भने दीपावली र छठ पर्व पर्खन्छन् । यी पर्वमा गाडमेलमा छ्याँसिनुपर्ने कोथा ९थाम० बाट पनि नगद आर्जन हुने भएपछि किसानले यस कामका लागि यो बेला पर्खने गरेका हुन् ।

“केरा राम्रो घरी लाग्न र कोसा ठुला एवं पोटिला हुन झ्याङमा धेरै कोथा रहन दिनु हुँदैन, बढी कोथा उखेलेर फाल्न पर्छ”, केराखेतीका किसान भङ्गाहा–४ का शुभनारायण ठाकुर भन्छन्, “यस्ता कोथा छयाँस्न हामी दीपावली र छठ पर्खने गरेका छौँ । यी पर्वमा लक्ष्मीपूजा र छठ पर्वमा केराकै थामका स्वागत द्वार बनाइने चलनले यी बिक्री हुन्छन्, त्यसैले हामी कोथा छ्याँस्न यो बेला पर्खन्छौँ ।”

ठाकुरजस्तै उहाँकै छिमेकी सत्यनारायण यादवले झ्याङमा बढेका कोथा हटाउन यही बेला पर्खने गरेका छन् । अरू बेला केराको गोडमेल गर्दा कोथा छाँस्नदेखि तिनलाई निश्चित ठाउँमा फाल्न लाग्ने श्रमिक खर्च यो बेलामा बचत हुने र बिक्रीबाट थप आम्दानी हुने भएपछि यो कामलाई दीपावली र छठ पर्खने गरिएको उनको भनाइ छ ।

“यी पर्वका बेला केरा खेती लगाइएको बारीबाटै व्यापारीले कोथा लान्छन्, छ्याँसिएका कोथा फाल्न श्रमिक लगाउन परेन, अनि प्रतिकोथाको रकम पनि पाइने भएपछि हामीलाई यी पर्व केरा गोडमेलको उपयुक्त अवसर बन्ने गरेको हो”, यादवले भने । यो बेला केराका थाम १०० रुपैयाँ प्रतिगोटासम्म बिक्ने गरेका यादवसँग विगत वर्षहरूको अनुभव छ ।

दीपावली पर्वको लक्ष्मीपूजाका दिन खासगरी बजार क्षेत्रका सानाठूला सबै व्यापारिक प्रतिष्ठानमा केराका थाम लगाएर स्वागत द्वार बनाइने आम चलन छ । यस्ता स्वागतद्वारमा कमसेकम एक ठाउँमा दुई वटा थाम लाग्छन् । यो परम्पराले बजार क्षेत्रमा लक्ष्मीपूजाका दिन बिहानदेखि मध्याह्नपूर्वसम्म केराका थामको बजार जम्ने गर्छ । यसैगरी छठ व्रतका दिन मध्याह्नसम्म थामको किनबेच हुन्छ । यसका लागि व्यापारीहरूले किसानका बारीबारीमा पुगेर थाम किनेर टायरगाडा र ट्याक्टरमा ढुवानी गरी बजारबजार पुर्याउँछन् । यी दुवै पर्वका बेला केराका थामको मात्रै महोत्तरीमा कमसेकम पाँच–सात लाखको किनबेच हुने गरेको पछिल्ला तीन वर्षको आफ्नो अनुभव जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीको छ ।

दीपावली र छठ केरा फलदेखि थामसम्म बिक्री हुने पर्व हुन् । छठमा त केराका घरी सूर्यदेव र षष्ठीदेवीलाई अर्घ्य दिँदा देखाउनुपर्ने चलन छ । यसैगरी लक्ष्मीपूजामा माता लक्ष्मीलाई भोग लगाउने फलमा केराकै बढी प्रयोग गरिन्छ । थपमा यी पर्वमा थामसमेत बिक्री हुने भएपछि केराखेतीका किसानलाई यो आर्जनको राम्रो अवसर बन्दै आएको बर्दिबास–९ पशुपतिनगरका किसान सुरजसिंह कुशवाहा बताउँछन् । यी पर्वका बेला केराका थाम यहाँका बजारमा जिल्लाभित्रका मात्र नभई छिमेकका जिल्लाबाट पनि व्यापारीले ल्याउने गरेका छन् ।

मिथिला क्षेत्रमा दीपावली र छठ पर्वका अवसरमा स्वागत द्वार बनाउन परम्परागतरुपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम शुभफल दायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्त्व बढेको संस्कृतिविद् जलेश्वर–५ पतैलीका बासिन्दा ध्रुव राय बताउनुहुन्छ । पद्मपुराणअन्तर्गतको मिथिला माहात्म्यका नेपाली अनुवादकसमेत रहनुभएका अवकाशप्राप्त सहप्राध्यापक रायले मिथिलामा केरा पौराणिककालदेखि नै धार्मिक महत्वको फल रहेको बताए ।

केरा दीपावली र छठमा मात्र नभई सबै धर्म सम्प्रदायका खास धार्मिक समारोह, विवाह, पितृकार्य र शुभकार्यमा प्रयोग गरिँदै आइएको फल हो । यी खास बेलामात्र नभई हरेक मौसममा उत्पादन हुने र उपभोक्ताको सधैँ रोजाइमा पर्ने फल हुँदा जिल्लाका सबै बजारमा केराको सधैँ किनबेच हुँदै आएको छ । यति उपयोगी फल भएर महोत्तरीको माटो र हावापानी यो खेतीको अनुकूल भए पनि यहाँ यसको खेती भने खासै बढ्न सकेको छैन ।

जिल्लामा अहिले ९यसपालि० ३०० हेक्टरको हाराहारीमा मात्र केरा खेती रहेको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरका बागवानीविज्ञसमेत रहेका सूचना अधिकारी अविरलकुमार महतो बताउँछन् । किसानले केराखेतीबारे चासो बढाए कार्यालयले सुलभ मूल्यमा उन्नत जातका कोथा उपलब्ध गराउने र प्राविधिक सहयोगको समन्वय गर्न सकिने महतोको भनाइ छ ।