‘विप्लव’ नेतृत्वका जुम्ला जिल्ला ईञ्चार्जसहित जिल्ला सदस्य माओवादीमा प्रवेश


काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निवासमा तिरुवालाई पार्टी प्रवेश गराएका हुन् ।
रविकिरणसहितको सिङ्गो जिल्ला कमिटीका सदस्यहरु माओवादी केन्द्रमा समाहित भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किने क्रम जारी रहेको बताए । उनले पूर्वमाओवादी नेताहरुलाई माओवादीमै फर्किन आह्वानसमेत गरे ।
प्रचण्डले भ्रम सिर्जना भएकाले केही साथीहरुले माओवादी छाडेर गएको गुनासो गर्दै आफूले बुझाउन नसकेकोप्रति चिन्ता व्यक्त गरे । उनले पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति हुने धारणा व्यक्त गरे ।






















