राजनीति

कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाईंदैन : नेपाल बार

जगत ठाडा मगर
२०७८ माघ १६ | मध्यान्ह ०३:१० बजे

काठमाडौं । नेपाल बार एशोसिएशनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर नधकेल्न आग्रह गरेको छ । बारले नेपालको संविधान र प्रचलित निर्वाचन कानुनका आधारमा तीनै तहको निर्वाचन समयमै गर्न आग्रह गरेको हो ।

वालिग मताधिकारको आधारमा आवधिक निर्वाचनबाट नै लोकतन्त्रको रक्षा र सम्वर्द्धन हुने स्मरण गराउँदै बारले अहिले स्थानीय तह निर्वाचन सम्बन्धि सञ्चारमाध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ । बारले कुनै आग्रह, पूर्वाग्रहका कारण निर्वाचन नगर्ने भन्ने विषय लोकतान्त्रिक शासनको उपहास हुने बताएको छ ।

बारले विज्ञप्तीमा भनेका छन्, ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ ।’

विधिको शासन, मानव अधिकार, स्वतन्त्र, सक्षम, निष्पक्ष न्यायपालिका, लोकतन्त्र, संवैधानिक सर्वोच्चता, पारदर्शी र जवाफदेही सरकार, बालिग मताधिकार, प्रेश स्वतन्त्रता, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा कानून व्यवसायीको हक, हितको सम्बर्द्धन र प्रवद्र्धनको पक्षमा एसोसिएसन रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कमेन्टहरु