Opens in a new tab

भैरहवा विमानस्थललाई दुईतर्फी हवाइ रुट दिन भारत सहमत

नवलपुर टुडे

455Shares

सारांश

  • नेपाल र भारतबीच हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ।
  • प्रधानमन्त्रीको भारत भ्रमणपछिको संयुक्त वक्तव्यमा हवाई सम्पर्क र आर्थिक गतिविधि विस्तार गर्ने सहमति उल्लेख गरिएको छ।
  • यो सहमतिसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फको हवाई उडान सञ्चालन तथा सम्पर्क विस्तार हुने सम्भावना बढेको छ।
dida bag ad

काठमाडौँ । नेपाल र भारतबीच हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई अब दुईतर्फी बनाउने सहमति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणपछि जारी संयुक्त प्रेस वक्तव्यमा उक्त हवाई रुटलाई द्विदिशात्मक बनाउने सहमति भएको उल्लेख छ।

हवाई सम्पर्क विस्तार र दुई देशबीचको आर्थिक गतिविधि प्रवद्र्धन गर्ने उद्देश्यले नागरिक उड्डयनसम्बन्धी विषयमा भइरहेको छलफललाई दुवै पक्षले सकारात्मक रूपमा लिएको संयुक्त वक्तव्यको आठौं बुँदामा उल्लेख छ। नेपालले लामो समयदेखि यो हवाइ रुट दिनका लागि भारतसँग आग्रह गर्दै आएको थियो। रुट दुईतर्फी सञ्चालन गर्ने सहमतिअनुसार त्यसको कार्यान्वयन प्रक्रिया र आवश्यक प्राविधिक व्यवस्थाबारे दुवै देशका अधिकारीबीच थप परामर्श हुने उल्लेख छ।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘दुवै पक्ष हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी–३४५ काठमाडौं–भैरहवा–लखनउ रुटलाई दुईतर्फी बनाउने विषयमा सहमत भएका छन्।’ भारतले बागडोरा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न दिने गरी सहमति गर्न प्रस्ताव गरेको थियो। तर नेपालले सैन्य प्रयोजनका लागि दिन नसकिने अडान राखेपछि दुवै देशका अन्य प्रस्तावमाथि पनि छलफल जारी राख्ने र ती प्रस्तावको कार्यान्वयनका लागि प्राविधिक परामर्श गरिने वक्तव्यमा उल्लेख छ।

यो सहमतिले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फको हवाई सम्पर्क विस्तार गर्ने सम्भावना बढाएको छ। तर दुईतर्फी रुट सञ्चालन हुने मिति र उडानको विस्तृत व्यवस्थाबारे भने संयुक्त वक्तव्यमा उल्लेख छैन।