Opens in a new tab

प्रेम, परिवार र राजनीतिक उतारचढाव समेट्दै सोनिया गान्धीले ल्याइन् संस्मरण

नवलपुर टुडे

315Shares

सारांश

  • भारतीय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो जीवनका विभिन्न भोगाइ, प्रेम, पारिवारिक सम्बन्ध र राजनीतिक यात्रा समेटिएको ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ नामक संस्मरण सार्वजनिक गरेकी छन्।
  • पुस्तकमा उनले इटालीदेखि भारतको राजनीतिक केन्द्रसम्मको यात्रा, राजीव गान्धीसँगको प्रेम विवाह, परिवारका सदस्यहरूको हत्या र असहज परिस्थितिमा पनि पार्टीको नेतृत्व सम्हालेको घटनालाई उजागर गरेकी छन्।
  • सोनियाले पछिल्लो १२ वर्षमा भारतको लोकतन्त्रमा क्षति पुगेको बताउँदै जनताले अब उचित शासन व्यवस्थाको चाहना राखेको विश्वास व्यक्त गरेकी छन्।
dida bag ad

नयाँदिल्ली । भारतको प्रमुख विपक्षी दल काङ्ग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध युवाहरूको बढ्दो असन्तुष्टिबाट राजनीतिक शक्ति पुनः प्राप्त गर्ने प्रयास गरिरहेका बेला पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो जीवनका प्रेम, पारिवारिक सम्बन्ध, जिम्मेवारी र वियोगका अनुभव समेटिएको संस्मरण सार्वजनिक गरेकी छन् ।

उनासी वर्षीया सोनियाको ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ शीर्षकको पुस्तक मङ्गलबार सार्वजनिक भएको हो । इटालीको एउटा सानो गाउँमा जन्मिएर भारतको राजनीतिक शक्तिको केन्द्रसम्म पुगेकी उनले पुस्तकमा प्रेम, कर्तव्य र आफ्नो पहिचान खोज्दाको यात्रा समेटेकी छन् ।

सन् १९४६ मा इटालीको क्याथोलिक परिवारमा जन्मिएकी सोनियाले सन् १९६५ मा क्याम्ब्रिजमा अध्ययनरत राजीव गान्धीलाई भेटेकी थिइन् । उनीहरूबीचको प्रेम विवाहमा परिणत भयो । सन् १९६८ मा विवाह गर्दा सोनियाले भारतको स्वतन्त्रता आन्दोलनका बेला जवाहरलाल नेहरूले जेलमा बुनेको धागोबाट तयार पारिएको साडी लगाएकी थिइन् ।

राजीवका हजुरबुबा नेहरू भारतका पहिलो प्रधानमन्त्री थिए भने आमा इन्दिरा गान्धीले सन् १९६६ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । सन् १९८४ मा इन्दिराको हत्या भएपछि सोनियाले पारिवारिक राजनीतिक सङ्घर्ष नजिकबाट अनुभव गरिन् । उनले राजीवलाई राजनीतिमा प्रवेश गर्नबाट रोक्न आफूले निकै प्रयास गरेको र उनी प्रधानमन्त्री बन्ने प्रस्तावको विपक्षमा रहेको बताएकी छन् ।

सन् १९९१ मा श्रीलङ्काको गृहयुद्धमा भारतको सैन्य हस्तक्षेपसँग जोडिएको आत्मघाती बम आक्रमणमा राजीवको हत्या भएपछि सोनिया छोरा राहुल र छोरी प्रियङ्काको पालनपोषणमा केन्द्रित भइन् । तर, सन् १९९८ मा काङ्ग्रेस नेताहरूको आग्रहमा उनले कमजोर बनेको पार्टीको नेतृत्व सम्हालिन् ।

सन् २००४ को निर्वाचनमा काङ्ग्रेस विजयी भएपछि सोनियाले प्रधानमन्त्री बन्न अस्वीकार गर्दै अर्थशास्त्री मनमोहन सिंहलाई उक्त जिम्मेवारी दिइन् । भ्रष्टाचारका विवादले सिंह नेतृत्वको सरकार घेरिएपछि सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) सत्तामा पुग्यो । त्यसयता मोदी नेतृत्वको भाजपाले आफ्नो प्रभाव विस्तार गर्दै आएको छ भने सोनियाको विदेशी जन्मलाई पनि राजनीतिक आलोचनाको विषय बनाइएको छ ।

सन् २०१९ को निर्वाचनमा काङ्ग्रेसको पराजयपछि मोदीले राहुललाई ‘राजकुमार’ भन्दै आलोचना गरेका थिए । पछिल्लो समय युवाहरूको नेतृत्वमा भएका विरोध प्रदर्शनले काङ्ग्रेसलाई पुनः राजनीतिक गति दिएको छ । राहुलले निर्वाचन आयोगले भाजपालाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरेको आरोप लगाउँदै प्रदर्शनको नेतृत्व गरेका छन् । आयोगले भने उक्त आरोप अस्वीकार गरेको छ ।

सोनियाले द हिन्दू अखबारसँगको अन्तर्वार्तामा पछिल्लो १२ वर्षमा भारतको लोकतन्त्र र संस्थाहरूमा ठूलो क्षति पुगेको बताएकी छन् । तर, मानिसहरूले त्यसलाई पहिचान गर्न थालेको र भारतका जनताले उचित शासन व्यवस्थामा फर्कने चाहना राख्ने विश्वास आफूमा रहेको उनले बताएकी छन् ।

अरुपनि पढ्नुहोस

सबै