Opens in a new tab

इरानसँगको अमेरिकी युद्ध चर्काउन चाहन्नन् कतार, साउदी र कुवेतसहितका खाडी मुलुकहरू

एजेन्सी

350Shares

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्रहरूको आग्रहलाई ध्यानमा राख्दै इरानमाथि तत्काल थप सैन्य आक्रमण नगर्ने संकेत दिएका छन्।
  • स्ट्रेट अफ होर्मुजमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी र इरानी आक्रमण तथा तनाव भने अझै कायम रहेको छ।
  • दुवै पक्षबीच कूटनीतिक प्रयास र वार्ताका बाबजुद हालसम्म युद्ध अन्त्यका लागि ठोस सहमति जुट्न सकेको छैन।
dida bag ad

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल थप सैन्य आक्रमण नगर्ने संकेत दिएका छन् । कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र कुवेतलगायत खाडी क्षेत्रका देशहरूले युद्ध थप चर्काउन नचाहेको भन्दै आग्रह गरेपछि आफूले नयाँ आक्रमण रोक्ने निर्णय गरेको ट्रम्पले बताएका हुन् ।

सोमबार रोयटर्ससँगको अन्तर्वार्ता तथा ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले तत्कालका लागि इरानमाथि थप सैन्य कारबाही नगर्ने कुरा दोहोर्‍याएका हुन् । यद्यपि, इरानका बन्दरगाह र समुद्री गतिविधिलाई लक्षित गर्दै स्ट्रेट अफ होर्मुजमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने उनले स्पष्ट पारे ।

‘संयुक्त राज्य अमेरिका अहिलेसम्मकै उत्कृष्ट सैन्य उपकरणसहित पूर्ण रूपमा तयारी अवस्थामा छ । तर, हामीलाई ती उपकरण प्रयोग गर्नुपर्ने अवस्था आउनेछ जस्तो लाग्दैन,’ ट्रम्पले पत्रकारहरूसँग भने ।

उनले छिमेकी मुलुकहरूको आग्रहअनुसार आफूले तत्काल नयाँ आक्रमण नगर्ने निर्णय गरेको बताए । विशेषगरी कतार, साउदी अरेबिया, यूएई, बहराइन र कुवेतले अमेरिकाले इरानमाथि थप हमला नगरोस् भन्ने चाहेको उनको भनाइ थियो ।

ट्रम्पको यस्तो अभिव्यक्ति कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग ह्वाइट हाउसमा भएको भेटपछि आएको हो । अल थानीले गत साता इरानको भ्रमण गरेका थिए । युद्ध सुरु भएदेखि नै कतारले अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।

अल थानीले ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको भेटलाई सकारात्मक भनेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै युद्ध अन्त्य गर्ने सम्झौता र क्षेत्रीय शान्तिका लागि भएको छलफलप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।

इरानको प्रस्ताव अमेरिकालाई अस्वीकार्य
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य कारबाही सुरु गरेयता आठ महिनाभन्दा बढी समय बितिसकेको छ । युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि दुवै पक्षबीच सहमति जुट्न सकेको छैन ।

इरानले युद्ध अन्त्यका लागि अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, केही आर्थिक प्रतिबन्ध फुकुवा गर्नुपर्ने र बमबारी रोक्नुपर्ने प्रस्ताव राखेको छ । त्यसको बदलामा इरानले स्ट्रेट अफ होर्मुजमा लगाएको आफ्नै नाकाबन्दी हटाउने र त्यसपछि आफ्नो आणविक कार्यक्रम तथा अन्य प्रतिबन्धबारे वार्ता गर्ने प्रस्ताव गरेको छ ।

तर, अमेरिकाले इरानको प्रस्ताव अस्वीकार गर्दै आएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार इरानका सर्तहरू अव्यावहारिक, अस्वीकार्य र हास्यास्पद रहेको टिप्पणी गरेका थिए ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने तेहरानको प्रस्ताव उपलब्ध विकल्पमध्ये सबैभन्दा व्यावहारिक रहेको दाबी गरेका छन् ।

इरानको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले अमेरिकाले कथोकल्पित वार्ताबारे गलत सूचना फैलाउन बन्द गर्नुपर्ने बताएका छन् । उनले अमेरिकाले इरानले अघि सारेका सात सर्त स्वीकार गर्नुपर्ने बताएका छन् ।

अमेरिकी विदेशमन्त्री रुबियोले तत्काल कूटनीतिक सफलता हासिल हुने सम्भावना नरहेको बताएका छन् । यूएईका वरिष्ठ अधिकारी अनवर गर्गासले पनि अमेरिका र इरानबीच व्यापक राजनीतिक सहमति जुटाउन कठिन देखिएको बताएका छन् ।

उनका अनुसार क्षेत्रले लामो समयसम्म अनिश्चितताको सामना गर्नुपर्ने हुन सक्छ । युद्धको असर र क्षेत्रीय अस्थिरता तत्काल अन्त्य हुने सुनिश्चितता नरहेको उनको भनाइ छ ।
यसैबीच, टर्कीका राष्ट्रपति तैयप एर्दोगानले पनि ट्रम्पलाई युद्ध थप चर्किन नदिन आग्रह गरेको बताएका छन् । उनले संवाद र कूटनीतिमार्फत समस्या समाधान गर्न सकिने भन्दै आफ्नो देशले त्यसका लागि प्रयास गरिरहेको बताए ।

आक्रमण र समुद्री तनाव कायमै
शान्तिका लागि कूटनीतिक प्रयास भइरहे पनि सैन्य गतिविधि भने रोकिएको छैन । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आइतबार राति अमेरिकाले इरानको केश्म टापुमा आक्रमण गरेको थियो । उक्त आक्रमणबाट महत्त्वपूर्ण पूर्वाधार र सार्वजनिक सेवा प्रभावित नभएको स्थानीय अधिकारीले बताएका छन् ।

रोयटर्सले उल्लेख गरे अनुसार अमेरिकी आक्रमणको निशानामा हवाई प्रतिरक्षा तथा जहाजको आवागमनमा प्रयोग हुने राडार प्रणाली, क्षेप्यास्त्र प्रक्षेपण केन्द्र र समुद्रमा बारुदी सुरुङ बिछ्याउने सैन्य संरचना थिए ।

अर्कोतर्फ, इरानले खाडी क्षेत्र र स्ट्रेट अफ होर्मुजमा तेल बोकेका ट्यांकरमाथि आक्रमण जारी राखेको छ । अक्टोबरदेखि यस्ता आक्रमण तीव्र बनेको अन्तर्राष्ट्रिय समुद्री निकायहरूको तथ्यांकले देखाएको छ । इरानी सरकारी टेलिभिजनका अनुसार पछिल्लो १० दिनमा ११ वटा ट्यांकर सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन् ।