हराउँदै देउसीभैलोका रैथाने भाका, पश्चिमा शैली र ठूला स्पिकर हाबी

नवलपुर टुडे

सारांश
- बागलुङमा तिहारको समयमा खेलिने देउसीभैलोमा परम्परागत बाजा र लोकभाकाको सट्टा आधुनिक गीत तथा साउण्ड सिस्टमको प्रयोग बढ्दै गएको छ।
- नयाँ पुस्ताको कम चासो र पश्चिमा संस्कृतिको प्रभावका कारण देउसीभैलोको मौलिक पहिचान तथा शैली सङ्कटमा पर्दै गएको छ।
- केही स्थानीय समूहले पुराना संस्कृति र मौलिकता जगेर्ना गर्न पुराना भाका तथा नाचलाई निरन्तरता दिने प्रयास पनि गरिरहेका छन्।

बागलुङ । तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा आधुनिक गीतसङ्गीत र प्रविधिको प्रभाव बढ्दै गएको छ । परम्परागत लोकभाका, बाजागाजा र सामूहिक नाचगानको स्थान आधुनिक गीत र साउण्ड सिस्टमले लिन थालेपछि देउसीभैलोको मौलिकता हराउँदै गएको छ ।
तिहार सुरु भएसँगै बागलुङ बजारका चोक तथा बस्तीमा देउसीभैलोको चहलपहल बढेको छ । यस वर्ष शनिबारदेखि नै देउसीभैलो खेल्न थालिएको बजारमा ठूला साउण्ड सिस्टममा आधुनिक गीत बजाएर नाच्ने क्रम बढेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा सहभागी भएर रमाइरहेका छन् । तर, बजारमा देखिएको चहलपहलमा परम्परागत देउसीभैलोको शैली भने कमै देखिन्छ ।
कुनै समय मादल, बाँसुरी र खैँजडीको तालमा सोरठी, मारुनी, कौरा, यानीमाया, सुनिमाया र झ्याउरे भाकामा देउसीभैलो खेल्ने चलन थियो । गीतमार्फत गाउँघरका सुखदुःख, सामाजिक अवस्था र जनजीवनका कथाव्यथा प्रस्तुत गरिन्थ्यो । अहिले यस्ता मौलिक भाका र नाच क्रमशः हराउँदै गएका छन् । रेकर्ड गरिएका आधुनिक गीतमा नाच्ने र ठूलो आवाजमा सङ्गीत बजाउने प्रवृत्ति बढ्दा देउसीभैलोको परम्परागत शैली सङ्कटमा परेको छ ।
स्थानीय प्रेम श्रेष्ठले पछिल्लो समय देउसीभैलोको मौलिकतामा ठूलो परिवर्तन आएको बताए । पश्चिमा संस्कृतिको प्रभाव र नयाँ पुस्ताले मौलिक कला तथा संस्कृतिको संरक्षणमा पर्याप्त चासो नदिँदा परम्परागत देउसीभैलोको पहिचान कमजोर बन्दै गएको उनको भनाइ छ । “पहिले मादल, बाँसुरी र खैँजडी बजाएर गीतमार्फत कथा, व्यथा र सामाजिक सन्देश सुनाइन्थ्यो । अहिले देउसीभैलोमा आधुनिकता र विकृति मिसिँदै गएको छ”, श्रेष्ठले भने ।
बागलुङ बजारका रबीप्रसाद शर्माले आधुनिक प्रविधिको विकास र देखासिकीका कारण देउसीभैलोको मौलिकता हराउँदै गएको बताए । तिहार र देउसीभैलो नेपाली समाजको सांस्कृतिक पहिचान भएकाले यसको मौलिक स्वरूप जोगाउनुपर्ने उनको भनाइ छ । युवा पुस्ताले परम्परागत गीत, सङ्गीत र नाचप्रति चासो नदेखाउँदा आधुनिक तथा पश्चिमा शैली हाबी हुँदै गएको उनले बताए ।
यद्यपि, सबै देउसीभैलो टोली आधुनिक शैलीमा मात्र सीमित छैनन् । केही समूहले पुराना भाका र संस्कृतिलाई निरन्तरता दिने प्रयास पनि गरिरहेका छन् । भकुण्डे टोल समूहले पाका पुस्ताबाट मौलिक गीत र नाच सिकेर नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले परम्परागत शैलीमा देउसीभैलो खेल्दै आएको छ ।
देउसीभैलो मनोरञ्जन र दक्षिणा सङ्कलन गर्ने माध्यम मात्र नभई नेपाली समाजको कला, संस्कृति, भाषा र सामूहिक एकताको अभिव्यक्ति पनि हो । समयअनुसार यसको शैलीमा परिवर्तन आउनु स्वाभाविक भए पनि मौलिक बाजा, भाका र नाचको संरक्षण हुन नसके तिहारसँग जोडिएको सांस्कृतिक पहिचान नै कमजोर बन्ने चिन्ता बढेको छ ।

नेपाल संवत् ११४७ र म्हः पूजा आज देशभर मनाइँदै

ट्रम्पको पुनरागमनको वाचा, डेमोक्रेटको अनुसन्धान चेतावनी

इरानसँगको कूटनीतिक वार्तामा थोरै प्रगति भएको रुबियोको भनाइ

दीपावलीमा पनि सेवामा खटिए कृष्णनगरका विद्युत् कर्मचारी, नागरिकको घर उज्यालो बनाउन दिनरात सक्रिय

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
अरुपनि पढ्नुहोस
सबै
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल

गरिब तथा असहाय बालबालिकालाई लक्षित गर्दै रोहिणीमा बालबगैँचा कार्यक्रम सुरु

जलविद्युत् कम्पनीको सामाजिक उत्तरदायित्वमा जोड

भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली
















