चिनियाँ जासुससँग विवाहेतर सम्बन्धको आरोपपछि एनभिडियाद्वारा आफ्नै प्रमुखमाथि अनुसन्धान

एजेन्सी

सारांश
- प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सन हुआङमाथि चिनियाँ जासुससँगको सम्बन्धको आशंकामा स्वतन्त्र अनुसन्धान सुरु गरिएको छ।
- जेन्सनले वैवाहिक सम्बन्ध बाहिरको सम्बन्ध स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका छन् भने कम्पनीको बोर्डले अहिलेसम्म गोप्य सूचना नचुहिएको बताएको छ।
- अमेरिकी गुप्तचरको निगरानीमा परेकी एलिस हुआङसँगको निकटतालाई लिएर संसद्का समितिहरूले जवाफ मागेका छन् भने चीनले जासुसी आरोपलाई अस्वीकार गरेको छ।

विश्वकै मूल्यवान् प्रविधि कम्पनीमध्ये एक एनभिडियाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङमाथि स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । चिनियाँ जासुस भएको आशंका गरिएकी व्यवसायी महिला एलिस हुआङसँग उनको सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि कम्पनीले अनुसन्धान थालेको हो ।
द न्युयोर्क टाइम्सका अनुसार अमेरिकी गुप्तचर निकायले एलिस हुआङ चीन सरकारका लागि काम गरिरहेको आशंका गरेको थियो । उनी र जेन्सनबीच निकट सम्बन्ध रहेको पनि समाचारमा उल्लेख छ ।
यसैबीच, जेन्सनले आफ्नी पत्नीसँग विवाहबाहिर सम्बन्ध राखेको स्वीकार गरेका छन् । उनले पत्नी र सन्तानसँग सार्वजनिक रूपमा माफी माग्दै आफ्नो गल्तीको कुनै बहाना नभएको बताएका छन् ।
‘मैले मेरी पत्नीसँग विश्वासघात गरेँ । मेरा कारण पत्नी र सन्तानलाई चोट पुगेको छ । म यसप्रति गहिरो दुःखी छु,’ उनले भनेका छन् ।
उनले आफ्नो कामको पूर्ण जिम्मेवारी लिने र एनभिडियाका कर्मचारी, सञ्चालक समिति तथा सेयरधनीप्रतिको दायित्व पूरा गर्न नसकेको स्वीकार गरेका छन् ।
कम्पनीका गोप्य सूचना चुहावट भएनन् : बोर्ड
एनभिडियाको सञ्चालक समितिले जेन्सन विदेशी गुप्तचर गतिविधिको निशानामा परेको समाचार सार्वजनिक भएपछि अनुसन्धान सुरु गरेको जनाएको छ ।
बोर्डका अनुसार अहिलेसम्म अमेरिकी राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचना चुहावट भएको कुनै प्रमाण छैन । तर, उपलब्ध सबै सूचनाको जाँच गरिनेछ ।
जेन्सनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् । उनले एनभिडिया र अमेरिकी राष्ट्रिय सुरक्षाको संरक्षण गर्न आफू प्रतिबद्ध रहेको पनि बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस विषयमा जेन्सनसँग कुराकानी नगरेको बताएका छन् । उनले जेन्सनलाई असल व्यक्ति भन्दै अमेरिकाका लागि उनले महत्त्वपूर्ण काम गरेको टिप्पणी गरेका छन् ।
एलिसमाथि अमेरिकी गुप्तचरको निगरानी
एलिस हुआङलाई हुआङ ले नामले पनि चिनिन्छ । उनी जेन्सनकी आफन्त होइनन् । उनी सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडसँग सम्बन्धित रहेको बताइएको छ ।
न्युयोर्क टाइम्सका अनुसार अमेरिकी गुप्तचर निकायले एलिस र एक अमेरिकी नागरिकबीच भएको सञ्चार सम्पर्कको निगरानी गरेको थियो । पछि ती अमेरिकी नागरिक जेन्सन भएको पहिचान गरिएको थियो ।
तर, एलिसले चीनलाई कस्तो सूचना दिएको आशंका गरिएको हो भन्ने खुलेको छैन । उनले कहिलेदेखि यस्तो गतिविधि गरेको भन्ने पनि स्पष्ट छैन ।
उता, अमेरिकी संसद्का तीन रिपब्लिकन समितिका प्रमुखले जेन्सनलाई पत्र लेख्दै कम्पनीको सुरक्षा व्यवस्थाबारे जवाफ मागेका छन् । उनीहरूले विदेशी जासुसीबाट अमेरिकी प्रविधि जोगाउन अपनाइएका उपायबारे जानकारी दिन आग्रह गरेका छन् ।
४५ खर्ब डलरको कम्पनीका प्रमुख विवादमा
जेन्सनले तीन दशकभन्दा लामो समयदेखि एनभिडियाको नेतृत्व गरिरहेका छन् । उनले एआई प्रविधिको सम्भावना पहिल्यै पहिचान गर्दै कम्पनीका चिपलाई एआई विकासमा प्रयोग गर्न सकिने बनाएका थिए ।
अहिले एनभिडियाका चिप ओपनएआई र मेटाजस्ता कम्पनीले प्रयोग गरिरहेका छन् । कम्पनीको बजार मूल्य करिब ४५ खर्ब अमेरिकी डलर पुगेको छ ।
एनभिडियाका एआई चिप अमेरिका र चीनबीचको प्रविधि प्रतिस्पर्धाको प्रमुख विषय पनि हुन् । अमेरिकाले चीनलाई अत्याधुनिक प्रविधिमा पहुँच सीमित गर्न चिप बिक्रीमा नियन्त्रण लगाउँदै आएको छ ।
चीनले भने एनभिडियाका प्रमुखलाई लक्षित गरी जासुसी गरिएको आरोपलाई ‘आधारहीन अड्कलबाजी’ भन्दै अस्वीकार गरेको छ ।

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

जलवायु सङ्कट विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा विकसित !

कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन

‘हियालोलो, हियालोलो’को गुञ्जनसँगै पेटभर्वामा भव्य रूपमा सम्पन्न ऐतिहासिक सोहरैया पर्व

आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा
अरुपनि पढ्नुहोस
सबै
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हराउँदै देउसीभैलोका रैथाने भाका, पश्चिमा शैली र ठूला स्पिकर हाबी

नेपाल संवत् ११४७ र म्हः पूजा आज देशभर मनाइँदै

ट्रम्पको पुनरागमनको वाचा, डेमोक्रेटको अनुसन्धान चेतावनी
















