Opens in a new tab

शे–फोक्सुण्डोमा हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार गरिँदै

रासस

3.3KShares

सारांश

  • डोल्पाको दानीगढ क्षेत्रमा भारी हिमपातका कारण अलपत्र परेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार कार्य सुरु गरिएको छ।
  • शे–फोक्सुण्डो तालको अवलोकनपछि माथिल्लो डोल्पा जाँदै गरेका उनीहरू सञ्चारसम्पर्कविहीन भए पनि निकुञ्ज सुरक्षामा खटिएको सेनाको सम्पर्कमा रहेका छन्।
  • कात्तिक १२ गतेदेखि नै माथिल्लो डोल्पामा पदयात्रीको प्रवेशमा रोक लगाइए पनि उनीहरू अटेरी गरेर त्यसतर्फ गएका थिए।
dida bag ad

कर्णाली । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार कार्य थालिएको छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे–फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर माथिल्लो डोल्पाको यात्रामा हिँडेका भारतीय पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा अलपत्र परेका थिए।

अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिइन्।

उनले भनिन्, ‘अहिले नेपाली सेनाको हेलिकोप्टरबाट उद्धारको पहल भइरहेको छ। पर्यटकहरू फसेको ठाउँमा नेटवर्क नभएका कारण फोन सम्पर्क हुन सकेको छैन। उनीहरू शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको सम्पर्कमा रहेका छन्।’

माथिल्लो डोल्पामा यही कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक लगाइए पनि उनीहरू अटेरी गर्दै त्यसतर्फ गएका थिए। प्रमुख जिल्ला अधिकारी ढकालले मौसम प्रतिकूलताका कारण सिर्जना भएका र हुन सक्ने जोखिमबाट सजग, सतर्क र सुरक्षित रहन सबैमा अनुरोध गरिन्।