Opens in a new tab

बङ्गलादेशमा फेरि आन्दोलन : गार्मेन्ट मजदुरद्वारा प्रहरी चौकी तोडफोड, सुरक्षाकर्मीद्वारा अश्रुग्यास प्रहार

एजेन्सी

3.3KShares

सारांश

  • बङ्गलादेशमा न्यूनतम मासिक पारिश्रमिक १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका पुर्‍याउनुपर्ने माग गर्दै गार्मेन्ट मजदुरहरूले गरेको आन्दोलनले हिंसात्मक रूप लिएको छ।
  • ढाका र आसपासका औद्योगिक क्षेत्रमा मजदुरहरूले तोडफोड तथा आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायले अश्रुग्यास, साउन्ड ग्रेनेड प्रहार गर्नुका साथै सीमा सुरक्षा बल परिचालन गरेको छ।
  • सरकारी कर्मचारीको तलब बढेपछि मजदुरहरू पनि सडकमा उत्रिएका हुन् भने उद्योगीहरूले लागत बढेको भन्दै तत्काल माग पूरा गर्न नसकिने अडान लिएका छन्।
dida bag ad

ढाका । बङ्गलादेशमा न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनरत गार्मेन्ट (तयारी पोसाक) मजदुरहरूको प्रदर्शन हिंसात्मक बनेको छ ।

राजधानी ढाका तथा आसपासका औद्योगिक क्षेत्रमा मजदुरहरूले व्यापक तोडफोड, सडक अवरोध र आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायले अश्रुग्यास तथा साउन्ड ग्रेनेड प्रहार गर्नुका साथै ‘बोर्डर गार्ड बङ्गलादेश’ (बिजिबि) परिचालन गरेको छ ।

शनिबारदेखि सुरु भएको आन्दोलन आइतबार ढाकाको मीरपुर तथा गाजीपुरको कोनाबाडी जस्ता प्रमुख औद्योगिक क्षेत्रहरूमा फैलिएको हो । प्रदर्शनकारीहरूले विभिन्न फ्याक्ट्रीहरू र प्रहरी चौकीहरूमा ढुङ्गामुढा तथा तोडफोड गरेका छन् । केही स्थानमा प्रहरीका सवारी साधनहरूमा समेत आगजनी गरिएको छ ।

प्रदर्शनकारीहरूले मुख्य सडकहरूमा ब्यारिकेड खडा गरी आवागमन ठप्प पारेपछि भीडलाई तितरबितर पार्न प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीले अश्रुग्यासका सेल र साउन्ड ग्रेनेड प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । स्थिति काबुमा राख्न प्रहरीका साथै बिजिबिका टुकडीहरू पनि तैनाथ गरिएको छ ।

मजदुरहरूको माग र विवादको कारण

बङ्गलादेशमा हाल गार्मेन्ट मजदुरहरूको न्यूनतम मासिक पारिश्रमिक १२ हजार ५०० टाका रहेको छ । मजदुरहरूले यसलाई बढाएर मासिक कम्तीमा ३० हजार टाका पुर्‍याउनुपर्ने माग गरिरहेका छन् ।

हालै बङ्गलादेश सरकारले निजामती तथा सरकारी कर्मचारीहरूका लागि नयाँ तलबदर लागू गर्दै तलब तथा भत्तामा झण्डै दोब्बर वृद्धि गरेपछि गार्मेन्ट मजदुरहरू पनि सडकमा उत्रिएका हुन् । सरकारले मजदुरहरूको तलब पुनरावलोकन गर्न नयाँ ‘वेतन बोर्ड’ गठन गरे तापनि मजदुरहरू तत्काल ठोस निर्णयको माग गर्दै आन्दोलनरत छन् ।

अर्कोतर्फ, गार्मेन्ट उद्योगीहरूले भने अन्तर्राष्ट्रिय बजारबाट पर्याप्त अर्डर नआएको, तयारी कपडाको मूल्य नबढेको र कच्चा पदार्थ आयातको लागत अत्यधिक बढेकाले मजदुरहरूको माग तत्काल पूरा गर्न नसकिने अडान लिएका छन् ।

बङ्गलादेशको अर्थतन्त्रमा गार्मेन्ट क्षेत्रको भूमिका

सन् १९७० को दशकको अन्त्यबाट सुरु भएको बङ्गलादेशको तयारी पोसाक उद्योग आज त्यहाँको अर्थतन्त्रको सबैभन्दा ठूलो मेरुदण्ड बनेको छ । बङ्गलादेशको कुल निर्यात व्यापारमा कपडा उद्योगको हिस्सा ८० प्रतिशतभन्दा बढी छ भने यस क्षेत्रमा करिब ४० लाख मानिस प्रत्यक्ष रूपमा कार्यरत छन् ।

त्यसैगरि, कुल कार्यरत मजदुरहरूमध्ये ६० देखि ७० प्रतिशत महिला रहेका छन् । यस उद्योगले बङ्गलादेशी महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन र उनीहरूको सामाजिक जीवनस्तर उकास्न ठूलो योगदान पुर्‍याएको छ ।