चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

रासस

सारांश
- जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुम्हाल समुदाय दीपावली र छठ पर्वलाई लक्षित गर्दै दियो, कलश, घैँटोलगायत माटाका विभिन्न सामग्री बनाउन व्यस्त छन्।
- चाडपर्वको समयमा माटाका भाँडा बिक्रीबाट राम्रै आम्दानी हुने भए पनि वर्षभरि भने यसै पेसाबाट मात्र परिवारको खर्च धान्न कठिन हुने गरेको छ।
- बजारमा आधुनिक तथा प्लास्टिकका सामग्रीको प्रयोग बढ्दै गएकाले पुस्तौँदेखि चल्दै आएको परम्परागत पेसा र संस्कृतिलाई जोगाउनु कुम्हाल समुदायका लागि ठूलो चुनौती बनेको छ।

जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन् ।
बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र चक्रमै व्यस्त भेटिन्छन् । कसैका हात माटो मुछ्नमा जुटेका छन् भने कसैले चक्र घुमाउँदै माटाका डल्लालाई आकार दिइरहेका छन् । चाडपर्वको रौनकसँगै सो बस्तीका कुम्हाल समुदायका घरआँगनमा माटाका सामग्री बनाएको हेर्नेहरु पनि भेटिन थालेका छन् ।
उनीहरूका लागि यो समय केवल चाडपर्वको तयारी मात्र होइन, वर्षभरि थन्किएको पेसाबाट केही आम्दानी गर्ने अवसर पनि हो ।
‘‘यो हाम्रो पसिना र मेहनतसँग परिवारको जीविका तथा पुख्र्यौली पेसाको निरन्तरता पनि जोडिएको हो”, स्थानीय सुन्दर पण्डिलले भने, “हाम्रो लागि माटो केवल कच्चा पदार्थ होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप, संस्कृति र पहिचानको आधार हो ।”
“दसैँ सकिएलगत्तै माटोका भाँडा बनाउने काममै लागेकै हुन्छु,” अयोधि पण्डितले भने, “अहिले माटोको भाँडा बेचेर राम्रै आम्दानी हुने भएकाले अरू काम थाती राखेर यसमा लागेका हौँ ।” दसैँदेखि छठसम्ममा माटोको भाँडा बेचेर खबै खर्च कटाउँदा रु एक लाखसम्म आम्दानी हुने उनले बताए ।
चाडपर्वमा माटाका सामग्रीको माग बढे पनि वर्षभरि यसै पेसाबाट परिवारको खर्च धान्न सहज नभएको कुमाल समुदायका अगुवा रामनारायण पण्डितले बताए ।
प्लास्टिक, स्टिल, आल्मुनियम र अन्य आधुनिक सामग्रीले बजारमा स्थान विस्तार गर्दै जाँदा परम्परागत माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएको छ । यसले गर्दा माटोसँग जीवन बिताएका कुमाल समुदायलाई आफ्नो पेसा जोगाउने र नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्ने चुनौती थपिएको उनको कथन छ ।
“कुनै समय घरघरमा माटाका भाँडाकुँडा प्रयोग गर्ने चलन थियो, पानी राख्न घैँटो, खाना पकाउन हाँडी, पूजा गर्न कलश र दीपावलीमा घरआँगन उज्यालो बनाउन दियो अनिवार्यजस्तै मानिन्थ्यो,” रामनारायणले भने, “तर, अहिले ती स्थान क्रमशः आधुनिक सामग्रीले लिन थालेका छन् । चाडपर्वमा पनि माटाका सामग्रीको प्रयोग सीमित हुँदै जानुले परम्परागत पेसामा निर्भर परिवारको आम्दानी प्रभावित हुन थालेको छ ।”
बजारमा प्लास्टिकका सामग्रीको चमक बढ्दै गर्दा माटोसँग जोडिएको परम्परागत पेसाको उज्यालो निभ्न नदिन राज्य, स्थानीय सरकार र उपभोक्ता सबैको साथ आवश्यक देखिएको कुमाल समुदायको भनाइ छ ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















