कांग्रेसका आगामी कार्यक्रम आसन्न स्थानीय तह र प्रदेश सभा निर्वाचन केन्द्रित हुने

नवलपुर टुडे

सारांश
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सानेपामा सम्पन्न भएको छ।
- नवनिर्वाचित सभापति गगन थापाले केन्द्रीय सदस्यहरूलाई चार महिनासम्म गाउँ-गाउँमा खटिएर तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।
- पार्टीले गुमेको मत फिर्ता ल्याउन र आगामी निर्वाचनलाई लक्षित गर्दै कार्यसमितिलाई पूर्णता दिएर विभिन्न अभियानहरू सञ्चालन गर्ने योजना बनाएको छ।

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्यो ।
पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई निर्वाचन समितिको रोहवरमा पद तथा गोपनीयताको शपथ गराएपछि बसेको बैठकमा नवनिर्वाचित सभापति गगन थापाले सदस्य र पदाधिकारीहरूलाई केही निर्देशन दिए ।
‘अबको चार महिना तपाईंहरू तोकेको क्षेत्रमा जानुपर्छ । त्यहाँ घुम्न होइन, पार्टीले टास्क दिन्छ, त्यो पूरा गरेर रिपोर्ट दिनुपर्छ,’ सभापति थापाले सदस्यहरूलाई दिएको निर्देशन उद्धृत गर्दै केन्द्रीय सदस्य अंशुल केसीले भने ।
सभापति थापाले बिहीबारको बैठकमा मात्रै होइन, कात्तिक १० गते पोखराको कार्यक्रममा पनि केन्द्रीय सदस्यहरूलाई काठमाडौँ केन्द्रित भएर बस्न नदिने बताएका थिए । उनले जिम्मेवारीसहित नेताहरूलाई गाउँ–गाउँमा पठाइने र मंसिर महिनाभर अभियान सञ्चालन गरिने बताए ।
गत फागुनको निर्वाचनमा अर्कै पार्टीलाई मतदान गरेका कांग्रेस समर्थकहरूलाई पुनः पार्टीमा जोड्न संवाद आवश्यक रहेको र त्यसका लागि मंसिर महिनाभर अभियान सञ्चालन गर्ने उनको भनाइ थियो ।
‘एक जना पनि केन्द्रीय सदस्यलाई काठमाडौँ बस्ने अवस्था आउन दिन्नँ । सबैलाई तल पठाउने हो, गाउँ–गाउँमा । अब चुनावको उम्मेदवार माथिबाट छान्दैन । जुन तहको निर्वाचन हो, त्यही तहका साथीहरूले उम्मेदवार तय गर्ने हो,’ कार्यक्रममा सभापति थापाले भनेका थिए, ‘यो कुरा विधानमै व्यवस्था गरिएको छ । उम्मेदवार हुन चाहने र पार्टीका नेताहरू केन्द्रतिर बसिराख्ने होइन, तलतल जाने हो ।
बिहीबारको बैठकमा थापाले पदाधिकारीलाई पनि टास्क दिएर जिल्ला–जिल्लामा खटाउने रणनीति बनाएका छन् ।
सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले पार्टीको पुरानो मत फर्काउने आफूहरूको पहिलो योजना रहेको बताए । ‘हाम्रो गुमेको मत फर्काउने पहिलो काम छ,’ सहमहामन्त्री रसाइलीले रातोपाटीसँग भने, ‘केन्द्रीय सदस्यलाई चार महिना फिल्डमा खटाउने सभापतिले बताइसक्नु भएको छ । कांग्रेसले गुमेको १० लाख मत फर्काउन पदाधिकारी र केन्द्रीय सदस्यलाई जिल्ला–जिल्लामा पठाउने योजना बनाएको छ ।’
पदाधिकारी र सदस्यहरूलाई पहिलो केन्द्रीय समिति बैठकमा कुन विषयमा र कुन क्षेत्रमा काम गर्ने हो कार्ययोजनासहितको फारम भरेर पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सभापति थापाले निर्देशन दिएका छन् । फारममा भूगोलमा गएर काम गर्न चाहनेलाई जिल्ला, गाउँ/नगरपालिका कुन हो, त्यो उल्लेख गरेर फारम भर्न भनिएको सहमहामन्त्री रसाइलीले बताए ।
त्यो बाहेक केन्द्रमा निर्वाचन व्यूरो, भ्रातृसंस्था, शुभेच्छुक संस्थामा काम गर्न चाहनेलाई पनि खुलाउन भनिएको छ । कांग्रेसले महाधिवेशनभन्दा अगाडि उपसभापति पुष्पा भुसालको संयोजकत्वमा निर्वाचन व्यूरो बनाएर आगामी निर्वाचनमा कस्ता कस्तालाई उम्मेदवार बनाउने ? पार्टीको जनमत कहाँ कस्तो छ भन्नेबारे अनुसन्धान सुरु गरेको थियो । त्यसलाई अब पनि निरन्तरता दिने रणनीति छ ।
‘केन्द्रबाट स्थानीय तह र प्रदेशमा उम्मेदवार चयन हुँदैनन् । निर्वाचन व्यूरोले अध्ययन अनुसन्धान गर्छ । आन्तरिक सर्वेक्षण गर्छ । त्यो उम्मेदवारको आकांक्षीलाई थाहा हुँदैन,’ सहमहामन्त्री रसाइलीले भने, ‘त्यसपछि रिपोर्टमा कसको पक्षमा बलियो जनमत छ, त्यसलाई पार्टीले उम्मेदवार बनाउँछ । पार्टीको पदमा रहेकाका पक्षमा जनमत नभए क्रियाशील सदस्यमात्रै भएकाले पनि टिकट पाउन सक्छन् ।’
कार्यसमितिलाई पूर्णता दिएपछि भ्रातृ र शुभेच्छुक संस्थाका अधिवेशन
सभापति थापाको योजना कार्यसमितिलाई पूर्णता दिने पनि प्राथमिकतामा छ । कांग्रेसको संशोधित विधानमा सभापतिले ६६ केन्द्रीय सदस्य मनोनीत गर्न सक्छन् । त्यो बाहेक केन्द्रीय सदस्यमध्येबाट ४ सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता र एक सहप्रवक्ता मनोनीत गर्न सक्छन् । विधानमा दुई महिनाभित्र मनोनीत गर्ने उल्लेख भए पनि सकभर चाँडै मनोनीत गरेर जिम्मेवारीमा खटाउने योजना सभापति थापाको छ ।
सहमहामन्त्री रसाइलीले पहिला कार्यसमितिलाई पूर्णता दिइने र कार्यसमितिले पूर्णता पाएपछि नेतृत्वविहीन भ्रातृसंस्थाका अधिवेशन गर्नतर्फ पार्टी लाग्ने उनको भनाइ छ ।
पार्टीका कार्यक्रम निर्वाचन र समुदाय केन्द्रित हुने
कांग्रेसका आगामी कार्यक्रम आसन्न स्थानीय तह र प्रदेश सभा निर्वाचन केन्द्रित हुने छन् । स्थानीय तहका अहिलेका पदाधिकारीको कार्यकाल वैशाखसम्म छ । प्रदेश सभाका सदस्यहरूको म्याद २०८४ को मंसिरसम्म छ । त्यसैले स्थानीय तह निर्वाचनका लागि ६ महिना र प्रदेश सभा निर्वाचनका लागि १ वर्ष मात्रै बाँकी रहेकाले पार्टीका कार्यक्रम निर्वाचन केन्द्रित बनाइने सहमहामन्त्री रसाइलीले बताए ।
त्यो बाहेक पार्टीका अन्य कार्यक्रम समुदाय केन्द्रित बनाउने गरी योजना बनिरहेको उनको भनाइ छ ।

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
अरुपनि पढ्नुहोस
सबै
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
















