भ्यान गगको ‘स्टारी नाइट’माथि वैज्ञानिक अनुसन्धान

एजेन्सी

सारांश
- प्रसिद्ध चित्रकार भ्यान गगको ‘द स्टारी नाइट’ चित्र पूर्ण रूपमा कल्पनामा आधारित नभई सन् १८८९ जुलाई २२ को वास्तविक खगोलीय दृश्यबाट प्रेरित रहेको वैज्ञानिक अध्ययनले देखाएको छ।
- दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूले कम्प्युटर सिमुलेसन र गणितीय पद्धतिको प्रयोग गरी चित्रमा देखिएका चन्द्रमा, शुक्र ग्रह र ताराहरूको अवस्थिति वास्तविक आकाशीय अवस्थसँग मिल्ने निष्कर्ष निकालेका छन्।
- यद्यपि, केही विज्ञहरूले कलाकारले सौन्दर्य र भावनाका लागि दृश्य परिवर्तन गर्न सक्ने तथा पुरानो मौसम अभिलेख पूर्ण नहुन सक्ने भन्दै यस आधारमा मात्र ठ्याक्कै मिति निर्धारण गर्न नहुने तर्क गरेका छन्।

सियोल । प्रख्यात डच चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ केवल कल्पनाको उपज नभई वास्तविक आकाशीय दृश्यबाट प्रेरित भएको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।
दक्षिण कोरियाका अनुसन्धानकर्ताले चित्रमा देखिएका तारा, चन्द्रमा र शुक्र ग्रहको अवस्थिति सन् १८८९ जुलाई २२ को बिहानको आकाशसँग मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेका छन् ।
सन् १८८९ मा बनाइएको यो चित्रलाई लामो समयदेखि कलाकारको कल्पना, स्मृति र फ्रान्सको सेन्ट–रेमीस्थित मानसिक स्वास्थ्य संस्थाको कोठाबाट देखेका दृश्यहरूको समायोजनका रूपमा लिइँदै आइएको थियो । तर दक्षिण कोरियाली अन्तरिक्ष विज्ञान कम्पनी एसएलएलएबी र सिओलस्थित क्युङ ही विश्वविद्यालयका अनुसन्धानकर्ताले चित्रमा देखिएको आकाश वास्तविक खगोलीय अवस्थासँग मेल खाने सम्भावना औँल्याएका छन् ।
अध्ययन ‘साइन्टिफिक रिपोट्र्स’ नामक जर्नलमा प्रकाशित भएको हो । अनुसन्धानकर्ताले भ्यान गगको अर्को चित्रलाई आधार बनाएर ‘द स्टारी नाइट’मा देखाइएको पहाडी भूभाग पहिचान गरेका थिए । उनीहरूले त्यो स्थान फ्रान्सको सेन्ट–रेमीस्थित आश्रमको दक्षिणपश्चिममा रहेको अनुमान गरेका छन् । भ्यान गगले त्यहाँ १२ महिना बिताएका थिए र त्यही अवधिमा चित्र बनाएका थिए ।
अनुसन्धानकर्ताले उक्त पहाडी स्थानबाट सन् १८८९ जुलाई २२ को बिहानको आकाश कस्तो देखिन्थ्यो भन्ने कम्प्युटर सिमुलेसन तयार पारे । त्यसमा चन्द्रमा र शुक्र ग्रह आकाशका विपरीत कुनामा देखिएका थिए । चन्द्रमा माथिल्लो दायाँ भागमा र शुक्र ग्रह तल्लो बायाँ भागमा थियो । यी दुईबिच वृष राशि (टेरियस) मा पर्ने हायडिज तारागुच्छ थियो, जसका पाँच चम्किला ताराले ‘भी’ आकार बनाउँछन् ।

चित्रमा पनि चन्द्रमा माथिल्लो दायाँतिर र शुक्र ग्रह बिचको बायाँ भागमा देखिन्छन् । अनुसन्धानकर्ताले चित्रमा रहेका पाँच ताराको सापेक्षिक अवस्थिति र हायडिज तारागुच्छको अवस्थिति तुलना गर्न विशेष गणितीय विधि प्रयोग गरेका थिए । यसले स्थान, आकार र घुमाइका भिन्नता हटाएर ताराहरूको समग्र आकृति तुलना गर्न मद्दत गर्छ ।
अध्ययनका प्रमुख लेखक तथा खगोलशास्त्री एलियाह जङ–ह्युन किमका अनुसार चित्रकारले ताराहरूलाई वास्तविक आकार वा दिशामै उतार्न आवश्यक छैन । त्यसैले चित्रमा तारागुच्छ ठुलो, सानो वा केही ढल्किएको देखिन सक्छ । अनुसन्धानकर्ताको निष्कर्षमा चित्रले आकाशीय दृश्य पूरै कल्पना गरेको नभई वास्तविक अवस्थालाई कलात्मक रूपमा विस्तार गरेको हुन सक्छ ।
- चित्र बनाइएको मितिबारे नयाँ प्रश्न
न्यूयोर्कस्थित म्युजियम अफ मोडर्न आर्टमा रहेको ‘द स्टारी नाइट’ सन् १८८९ जुनको मध्यतिर बनाइएको मानिन्छ । कला इतिहासकारहरूले भ्यान गगले जुन १८ आसपास आफ्ना भाइ थियोलाई लेखेको पत्रका आधारमा उक्त मिति तय गरेका थिए । पत्रमा उनले ताराले भरिएको आकाशको नयाँ अध्ययन गरेको उल्लेख गरेका थिए ।
तर अनुसन्धानकर्ताका अनुसार जुनको मध्यतिर चन्द्रमा लगभग पूर्ण आकारको थियो, जबकि चित्रमा चन्द्रमा हँसियाजस्तो देखिन्छ । सूर्य नयाँ राशिमा प्रवेश गर्दै गरेकोले त्यस समयको ग्रीष्मकालीन बिहानको आकाशमा प्रभावशाली ताराहरू उदाउने अवस्था पनि थिएन । जुलाई २२ आसपास भने हायडिज तारागुच्छ शुक्र ग्रहसँगै पूर्वमा उदाउँथ्यो र चन्द्रमाको आकार चित्रमा देखिएजस्तै थियो ।
यसले चित्र निर्माणको समयबारे नयाँ बहस जन्माएको छ । अनुसन्धानकर्ताले भ्यान गगले जुनमा चित्रको अवधारणा बनाएको तर जुलाई २२ पछि त्यसलाई पूरा गरेको हुन सक्ने सम्भावना प्रस्तुत गरेका छन् । चित्रमा ताराहरूका लागि ठाउँ पहिले नै खाली राखेर पछि रंग भरिएको हुन सक्ने पुरानो परीक्षणले पनि आकाशको बनावट योजनाबद्ध रूपमा तयार गरिएको सङ्केत गरेको उनीहरूको भनाइ छ ।
भ्यान गगलाई जुलाईको मध्यतिर मानसिक रूपमा बिरामी परेको र त्यसपछि केही सातासम्म चित्र बनाउन नसकेको मानिँदै आएको थियो । तर अनुसन्धानकर्ताले फ्रान्सेली तथा डच भाषाका पुराना पत्र र तत्कालीन मौसमसम्बन्धी अभिलेख पुनः अध्ययन गर्दा उक्त बिमार जुलाईको अन्त्यतिर भएको र एक–दुई दिनमै निको भएको हुन सक्ने बताएका छन् । यस्तो भएमा उनले जुलाईमा आकाश अवलोकन गर्न र चित्रमा काम गर्न पाएको सम्भावना रहन्छ ।
यद्यपि, अनुसन्धानकर्ताको निष्कर्षलाई सावधानीपूर्वक व्याख्या गर्नुपर्ने विज्ञहरूले बताएका छन् । चीनको सियामेन विश्वविद्यालयका प्राध्यापक योङसियाङ हुआङले खगोलीय गणना, ऐतिहासिक मौसम अभिलेख र पत्रहरूको अध्ययनलाई जोड्ने अनुसन्धान रोचक भए पनि चित्रमा देखिएका ताराको अवस्थिति मात्रका आधारमा ठ्याक्कै मिति निर्धारण गर्नु कमजोर आधार हुन सक्ने बताएका छन् ।
उनका अनुसार ‘भ्यान गग पोस्ट–इम्प्रेसनिस्ट कलाकार थिए, क्यामेरा होइनन् । कलाकारले सौन्दर्य, भावना र शैलीका कारण वास्तविक दृश्यलाई परिवर्तन गर्न सक्छन् ।’ अनुसन्धानमा प्रयोग गरिएका १९औँ शताब्दीका मौसम अभिलेख पनि आधुनिक मापदण्डअनुसार व्यवस्थित र पूर्ण नहुन सक्छन् ।
अनुसन्धानले भ्यान गगले चित्र कहिले बनाउन सुरु गरे वा पछि त्यसमा फेरि काम गरे कि गरेनन् भन्ने प्रश्नको उत्तर दिन सकेको छैन । थप ऐतिहासिक मौसम अभिलेख र कलाकारका पत्रहरू भेटिएमा चित्रको निर्माण समय अझ स्पष्ट हुन सक्ने अनुसन्धानकर्ताको भनाइ छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















