सुस्तावासी दशैँमा पनि निराशामा

नवलपुर टुडे

सारांश
- नारायणी नदीको बाढी र कटानका कारण पश्चिम नवलपरासीको सुस्तामा यसपटकको बडादशैँको कुनै पनि उल्लास र रौनक छाएको छैन।
- बाढीले घरमा रहेको अन्नपात नष्ट गर्नुका साथै खेतमा पाक्नै लागेको धान र केरा खेतीमा ठूलो क्षति पुर्याएपछि करिब ४० परिवार अझै पनि आश्रयस्थलमै बस्न बाध्य छन्।
- स्थानीय तहबाट केही राहत वितरण गरिए पनि स्थायी समाधान नहुँदा सुस्तावासीहरू वर्षेनि बाढीको त्रास र अनिश्चितताका बीच पर्व मनाउन विवश छन्।

नवलपरासी, असोज ३१ । बडादशैँको रौनकले मुलुकभर खुसी र उल्लास छाए पनि पश्चिम नवलपरासीको सुस्तावासीका लागि भने यसपटकको दशैँ रौनकले छुन सकेको छैन । खुसी होइन, पीडा र निराशा छ । केही साताअघि नारायणी नदीमा आएको बाढी र कटानका कारण सुस्तावासीका घरमा दशैँको कुनै उल्लास र चहलपहल छुन सकेको छैन ।
बाढीले घरभित्र भण्डारण गरी राखिएका खाद्यान्नमा ठूलो क्षति पुगेको छ। भने खेतमा पाक्नै लागेका धानबाली र अन्नबाली बालुवाले पुरेको छ । सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार बाढीका कारण खेतमा पाक्नै लागेको धान बाली र केरा खेतीमा ठूलो क्षति पुगेको छ। साथै, घरभित्र पानी पस्दा भण्डारण गरी राखिएका अन्न तथा अन्य विविध सामानहरू नष्ट भएका छन्। बाढीले घरबास नै जोखिममा पारेपछि अहिलेसम्म पनि करिब ४० परिवार आश्रयस्थलमै बस्न बाध्य भइरहेको प्रवक्ता जयसवालले जानकारी दिनुभयो।
गाउँभरि दशैँको कुनै रौनक नभएको र अन्यत्र मानिसहरू पर्वको खुसी मनाइरहँदा सुस्ताका बाढीपीडितहरू भने गाँस र बासकै चिन्तामा आश्रयस्थल र भग्नावशेष हेरेर टोलाउन बाध्य छन्।
स्थानीयबासीहरूका अनुसार दशैँ मनाउनु त परको कुरा, “गाउँभरि दशैँको कुनै रौनक छैन । बाढीले घरका खाद्यान्नमा ठूलो क्षति पारिदियो, खेतको बाली बालुवामा परिणत भयो,” पीडा पोख्दै सुस्ताक स्थानीयले भने, मानिसहरू दशैँ मनाइरहँदा हामी भने नारायणीको कटान र भोलि कहाँ बस्ने भन्ने चिन्तामै दिन बिताउन बाध्य छौँ । हाम्रा लागि यसपटकको दशैँले कुनै खुसी ल्याउन सकेन ।”
यसैबीच, बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकारका तर्फबाट तत्कालीन राहत वितरणको गरिएको छ। सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन प्रसाद रेग्मीका अनुसार बाढी प्रभावित समुदायको दुःखलाई मध्यनजर गर्दै गाउँपालिकाका तर्फबाट खाद्यान्नसहितका राहत सामग्री उपलब्ध गराएर सहयोग गरिएको छ।
तथापि, क्षति ठूलो रहेकाले सुस्तावासीहरू अझै पनि पूर्ण पुनर्स्थापना र दीर्घकालीन समाधानको पर्खाइमा छन्। वर्षेनि दोहोरिने नारायणीको बाढी र कटानको स्थायी समाधान नहुँदा सुस्ताका बासिन्दाले हरेक पर्व र उत्सवहरू यस्तै अनिश्चितता र अभावका बीच बिताउनुपर्ने बाध्यता रहँदै आएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















