विजयादशमी मानवीय मूल्य र सदाचारको विजयको उत्सव: उपराष्ट्रपति यादव

नवलपुर टुडे

सारांश
- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमीलाई धार्मिक आस्थासँगै मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सवका रूपमा व्याख्या गर्नुभएको छ।
- उहाँले यस पर्वले असत्य र नकारात्मक प्रवृत्तिमाथि विवेकको विजय गराउँदै समाजमा सहिष्णुता, आत्मानुशासन र आपसी सद्भाव बढाउने उल्लेख गर्नुभएको छ।
- दसैँले परिवारबीच पुनर्मिलन गराउनुका साथै सामाजिक एकता, राष्ट्रिय पहिचानको संरक्षण र समुन्नत नेपाल निर्माणका लागि प्रेरणा दिने उहाँको शुभकामना सन्देशमा उल्लेख छ।

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभएर मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्।
विजयादशमी, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सत्य, न्याय, धर्म र सदाचारको जित सुनिश्चित हुने युगीन सन्देश बोकेको बडादसैँले मानिसलाई आफ्नो आचरण र व्यवहारको आत्मसमीक्षा गर्ने अवसर दिने उल्लेख गरे।
उपराष्ट्रपति यादवले असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि मानवता, विवेक र नैतिक शक्तिको विजय सुनिश्चित हुने विश्वासलाई यस पर्वले बलियो बनाउने बताए। उनका अनुसार विजयादशमीले समाजमा सहिष्णुता, आत्मानुशासन, संयम र कर्तव्यप्रतिको निष्ठा बढाउँछ।
साथै, लोभ, घृणा, अहङ्कार, ईष्र्या र वैमनस्यजस्ता दुर्गुण त्यागेर सहकार्य, समर्पण, सद्भाव र मानवीय संवेदनाको बाटोमा लाग्न दसैँले प्रेरणा दिने उनको भनाइ छ। व्यक्तिको आन्तरिक शुद्धीकरण र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम राख्न पनि यस पर्वको विशेष भूमिका रहन्छ।
दसैँलाई पुनर्मिलन र आत्मीयताको महापर्वका रूपमा व्याख्या गर्दै उनले शिक्षा, रोजगारी वा व्यवसायका कारण टाढा रहेका व्यक्तिहरू यस अवसरमा प्रियजनसँग भेटघाट गरी सम्बन्ध नवीकरण गर्ने परम्परा रहेको बताए।
ज्येष्ठको आशीर्वाद, अग्रजप्रतिको सम्मान र कनिष्ठप्रतिको स्नेह आदानप्रदानले पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो बनाउने भएकाले विजयादशमी धार्मिक संस्कारमा मात्र सीमित नभई सामाजिक एकता र मानवीय सम्बन्धको उत्सवका रूपमा स्थापित भएको उनले स्पष्ट पारे।
परम्परागत संस्कार, लोककला, सङ्गीत र सांस्कृतिक अभ्यासले राष्ट्रिय पहिचानलाई समृद्ध बनाउने भन्दै उनले यस्ता आयामको संरक्षणमा दसैँको योगदान महत्वपूर्ण रहेको बताए। आजको परिवर्तित विश्व परिवेशमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्व झनै आवश्यक भएको उल्लेख गर्दै उनले विभाजनभन्दा माथि उठेर साझा राष्ट्रिय हित र समुन्नत नेपाल निर्माणमा लाग्न दसैँले प्रेरणा देओस् भन्ने कामना गरे।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















