सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले भालुवाङ बसपार्कमा मापसे/ लापसे चेकजाँच
नन्द किशोर कुर्मी (लालु)

सारांश
- चाडपर्वलाई लक्षित गर्दै दाङको भालुवाङ बसपार्कमा सवारी चालक तथा सहचालक लक्षित मापसे र लापसे चेकजाँच गरिएको छ।
- जाँचका क्रममा कुनै पनि चालकले मादक वा लागू पदार्थ सेवन गरेको नपाइएपनि क्षमताभन्दा बढी यात्रु बोक्ने एक सवारीसाधनलाई कारबाही गरिएको छ।
- प्रहरीले दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सुनिश्चित गर्न चाडपर्वको समयमा थप जिम्मेवार बन्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

दाङ, भालुवाङ। आउँदै गरेको विजयादशमी, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिका–१, भालुवाङ बसपार्कमा मादक पदार्थ सेवन (मापसे) तथा लागू पदार्थ सेवन (लापसे) चेकजाँच कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा सवारी चालक तथा सहचालकलाई लक्षित गरी मापसे तथा लापसे परीक्षण गरिएको थियो। चेकजाँचका लागि २५ वटा लापसे परीक्षण किट प्रयोग गरिएको थियो।
चेकजाँचका क्रममा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरेको अवस्थामा कुनै पनि चालक तथा सहचालक फेला नपरेको जनाइएको छ। यस्तै, क्षमताभन्दा बढी यात्रु बोकेको एउटा सवारीसाधनलाई कारबाही गरिएको थियो।कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख केशवकुमार खड्काले सवारी चालक तथा सहचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक तथा लागू पदार्थ सेवन गरी सवारी नचलाउन र यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। उहाँले चालक तथा सहचालकलाई सम्झाइबुझाइ गर्दै आउँदै गरेको विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो।

उहाँले चाडपर्वको समयमा सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले चालक तथा सहचालक थप जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै प्रहरी तथा ट्राफिक प्रहरीको चेकजाँच यात्रुलाई दुःख दिन नभई सम्भावित दुर्घटना न्यूनीकरण गरी सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि भएको बताउनुभयो।कार्यक्रममा इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख गोपाल न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख केशवकुमार खड्का, अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङका प्रमुख महादेव भट्ट, उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरज खड्का, सिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका मोहन खड्का, राप्ती गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष आत्माराम पौडेल, स्वर्गद्वारी बहुमुखी यातायात सेवा प्रालिका दीपेन्द्र जिसी, जलजला हिमाल समितिका यादव बस्याल, पत्रकार श्रीधर कँडेल तथा भालुवाङ अस्पतालका हेल्थ असिस्टेन्ट पूर्णबहादुर मौर्यलगायत विभिन्न यातायात समितिका प्रतिनिधि र आम नागरिकको सहभागिता रहेको थियो।
प्रहरी तथा ट्राफिक प्रहरीको संयुक्त सक्रियतामा सञ्चालन गरिएको उक्त कार्यक्रमले चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र सुरक्षित यात्राको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रहरीले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा यात्रा गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न, मापसे तथा लापसे गरी सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नबोक्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन सम्पूर्ण चालक, सहचालक तथा यातायात व्यवसायीलाई आग्रह गरेको छ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















