Opens in a new tab

थारु संस्कृति र परम्परा चिनाउने सङ्ग्रहालय

रासस

1.2KShares

सारांश

  • सुनसरीको रामधुनी नगरपालिका–२ मा थारु समुदायको इतिहास, जीवनशैली र सांस्कृतिक परम्परा झल्काउने सङ्ग्रहालय स्थापना गरिएको छ।
  • विसं २०७७ मा ३५ लाखको लागतमा निर्मित यस सङ्ग्रहालयमा थारु संस्कार समेटिएका १५० भन्दा बढी मूर्ति तथा कलात्मक संरचना राखिएका छन्।
  • नयाँ पुस्तामा संस्कृति पुस्तान्तरण गर्न स्थापित यस सङ्ग्रहालयको संरक्षणका लागि नगरपालिकाले नियमित रूपमा बजेट विनियोजन गर्दै आएको छ।
dida bag ad

सुनसरी । रामधुनी नगरपालिका–२ मा थारु समुदायको इतिहास, जीवनशैली, संस्कार र सांस्कृतिक परम्परा झल्काउने सङ्ग्रहालय स्थापना गरिएको छ ।

थारु समुदायको मौलिक पहिचान संरक्षण गर्नाका साथै नयाँ पुस्तालाई पुर्खाको संस्कृति र परम्पराबारे जानकारी गराउने उद्देश्यले निर्माण गरिएको उक्त सङ्ग्रहालयमा १५० भन्दा बढी मूर्ति तथा कलात्मक संरचना राखिएका छन् ।

तीन कट्ठा १० धुर क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय विसं २०७७ मा निर्माण गरिएको हो । सङ्घीय सरकारले आर्थिक वर्ष २०७६/७७ को ‘तराई–मधेस समृद्धि कार्यक्रम’ अन्तर्गत उपलब्ध गराएको रु ३५ लाख बजेटबाट सङ्ग्रहालय निर्माण गरिएको रामधुनी नगरपालिका–२ का वडा सदस्य रामनारायण चौधरीले जानकारी दिए ।

सङ्ग्रहालयमा थारु समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार, रहनसहन र सांस्कृतिक अभ्यासलाई मूर्ति तथा कलात्मक संरचनामार्फत चित्रण गरिएको छ । यसले समुदायको मौलिक पहिचान संरक्षण गर्नाका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्पराबारे बुझ्न सहयोग पुग्ने चौधरीले बताए । “नयाँ पुस्तालाई आफ्नै संस्कृति र पहिचानबारे जानकारी होस् भन्ने उद्देश्यले यो सङ्ग्रहालय निर्माण गरिएको हो,” उनले भने । त्यसको संरक्षण, मर्मतसम्भार तथा थप सामग्री व्यवस्थापनका लागि रामधुनी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा रु सात लाख बजेट विनियोजन गरेको उनले बताए । नगरपालिकाले हरेक वर्ष सङ्ग्रहालयको व्यवस्थापन र संरक्षणका लागि रु पाँच लाखदेखि सात लाखसम्म बजेट व्यवस्था गर्दै आएको उनको भनाइ छ ।

सङ्ग्रहालय अवलोकनका लागि नेपालीसँगै विदेशी पर्यटकसमेत आउने गरेका छन् । तर पर्याप्त प्रचारप्रसार हुन नसक्दा धेरैलाई जानकारी नभएको चौधरीले बताए । थारु समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचान झल्काउने यस सङ्ग्रहालयको महत्वलाई थप मानिसमाझ पुर्‍याउन प्रचारप्रसार आवश्यक रहेको उनको भनाइ छ ।

भौतिक संरचना निर्माणमा सङ्घीय सरकार र नगरपालिकाको सहयोग रहेको छ । यस सङ्ग्रहालयले थारु समुदायको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा योगदान पुर्‍याउने चौधरीले बताए ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै